प्रहार समाचार । तनहुँ, २७ असोज २०८३ मंगलबार । बिहानको समयमा बढ्दै गइरहेका सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यसहित जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले पोखरा–मुग्लिन सडकखण्डमा संयुक्त चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिएका छन्।

दुर्घटनाको जोखिम बढिरहेका बेला प्रहरीले बिहानै सडकमा उत्रिएर चालकलाई सडकको अवस्था, लेन अनुशासन र ट्राफिक नियमको पूर्ण पालना गर्न सम्झाउँदै सचेत गराएको हो। सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा सुनिश्चित गर्ने लक्ष्यसहित सञ्चालन गरिएको कार्यक्रममा विभिन्न प्रकारका सवारीसाधनका चालकलाई लक्षित गरी सचेतना प्रदान गरिएको छ। प्रहरीले सडकको अवस्था र जोखिमलाई ध्यानमा राखेर सवारी चलाउन, लेन अनुशासन कायम राख्न तथा ट्राफिक नियमको उल्लङ्घन नगर्न चालकलाई सम्झाइबुझाइ गरेको छ।

सडकमा हुने लापरबाहीले चालक मात्र नभई यात्रु र अन्य सडक प्रयोगकर्ताको ज्यानसमेत जोखिममा पर्ने भएकाले जिम्मेवार भएर सवारी चलाउन प्रहरीले जोड दिएको छ।बिहानको समयमा हुने सम्भावित दुर्घटना रोक्न प्रहरीको सक्रियता बढाइए पनि सडक सुरक्षाको जिम्मेवारी प्रहरीको मात्र नभई प्रत्येक चालकको समेत हो। ट्राफिक नियमलाई बेवास्ता गर्ने, सडकको अवस्थाको ख्याल नगर्ने र लेन अनुशासन उल्लङ्घन गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले चालक स्वयं सचेत र जिम्मेवार बन्न आवश्यक छ। दुर्घटना भएपछि पछुताउनुभन्दा दुर्घटना हुनै नदिनु बुद्धिमानी हुने सन्देशसहित तनहुँ प्रहरीले सञ्चालन गरेको सचेतना अभियानले चालकलाई नियम पालना गर्न र सुरक्षित यात्रालाई प्राथमिकता दिन आह्वान गरेको छ।

























