प्रहार समाचार । तनहुँ, १८ असोज २०८३ । तनहुँको भानु नगरपालिका–१० तल्लो मैदानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको मोटरसाइकलमा सवार स्थानीय ४५ वर्षीय शङ्कर पाण्डे र ६५ वर्षीय टङ्कनीति पाण्डेको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग १९ प ८०६५ नम्बरको मोटरसाइकल आज अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी थप उपचारका लागि छुट्टाछुट्टै अस्पताल पठाइएको थियो । मोटरसाइकल चालक शङ्करको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो । अर्का घाइते टङ्कनीतिको भने प्रदेश अस्पताल लमजुङमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मनोज पाण्डेले जानकारी दिए । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






















