प्रहार समाचार । काठमाडौं, १८ असोज ३०८३ आइतबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जनसम्पर्क समिति कतारका महाधिवेशन प्रतिनिधिमा विकास भुजेल चयनभई महाधिवेशनका लागि राजधानि काठमाडौं आइपुगेका छन् ।

नेपाली कांग्रेसको ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प र समुन्नत नेपालको प्रतिबद्धता’ भन्ने राजनीतिक मूलमन्त्रलाई आत्मसाथ गर्दै भुजेलले पार्टीभित्र विचार, नीति र नेतृत्वमा नयाँ गति आवश्यक रहेको धारणा अघि सारेका छन् । गौरव, गति, गन्तव्य’को नारासहित अघि बढेका भुजेलले महामानव वीपी कोइरालाको राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई कांग्रेसको मूल वैचारिक आधारका रूपमा स्थापित गर्दै समयअनुकूल राजनीतिक रूपान्तरणमा जोड दिएका छन् ।

कतारमा लामो समयदेखि नेपाली समुदायसँग जोडिएर सामाजिक तथा राजनीतिक भूमिकामा सक्रिय भुजेल गण्डकी प्रदेश समन्वय परिषद् कतारका सल्लाहकार, प्रवासी भुजेल समाज कतारका प्रमुख सल्लाहकार, तनहुँ सेवा समाज कतारका सल्लाहकार, जनजाति महासंघ कतारका सचिवालय सदस्य तथा जनसम्पर्क समिति कतार गण्डकी प्रदेशका संयोजक हुन् । सरल, हँसिलो स्वभाव र सबैमा सहयोगको भावना भएका भुजेल प्रवासमा रहेर नेपाली कांग्रेसको संगठन विस्तार, नेपाली समुदायका मुद्दा र लोकतान्त्रिक मूल्यको पक्षमा सक्रिय रहँदै आएका उनले महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया नभई कांग्रेसको आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन् ।

भुजेलको राजनीतिक सन्देशमा राष्ट्रियता भूगोल वा माटोमा मात्र सीमित विषय नभई जनताको सामूहिक भावना र विचार भएको स्पष्ट दृष्टिकोण देखिन्छ । उनले परम्परागत राजनीतिक संस्कारको सम्मान गर्दै परिवर्तनलाई आत्मसात् गर्ने, संगठनलाई गतिशील बनाउने र जनताको अपेक्षाअनुसार कांग्रेसलाई थप जिम्मेवार तथा प्रभावकारी बनाउने प्रतिबद्धता अघि सारेका छन् । राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल आदर्शलाई व्यवहारमा उतार्दै गौरवका साथ अघि बढ्ने, गतिलाई आत्मसात् गर्ने र समुन्नत नेपाललाई गन्तव्य बनाउने उनको दाबी छ ।






















