प्रहार समाचार । काठमाडौं, १८ असोज २०८३ आइतबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता सुशील तिमल्सेनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट सम्मानजनक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित तिमल्सेना सो क्षेत्रबाट खुलातर्फ निर्वाचित हुनेमध्ये कान्छा प्रतिनिधिसमेत हुन्। पार्टीभित्र पुस्तान्तरणको बहस चर्किरहेका बेला उनको उम्मेदवारीले युवा पुस्ताको केन्द्रीय नेतृत्वमा बलियो उपस्थिति खोजेको संकेत गरेको छ। नेविसंघको केन्द्रीय सदस्य तथा १० जोड दुई संयोजक, पब्लिक युथ क्याम्पस इकाइ सभापतिसहित विद्यार्थी राजनीतिबाट खारिएका तिमल्सेनाले कांग्रेसको संगठनलाई समयअनुकूल, गतिशील र जनतासँग जोडिएको बनाउन आफूले भूमिका खेल्ने बताएका छन्।

कांग्रेस बलियो बनाउन नेविसंघ बलियो हुनुपर्ने र तरुण पुस्ताको जोश, ऊर्जा तथा क्षमतालाई पार्टीको मूलधारको राजनीतिमा प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने उनको धारणा छ।लोकप्रियता, संगठनात्मक अनुभव र शालीन राजनीतिक छविलाई आधार बनाउँदै तिमल्सेनाले केन्द्रीय सदस्यमा दाबी अघि सारेका छन्। गुट र पुस्तागत घेराभन्दा माथि उठेर युवा पुस्ताको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने सन्देशसहित आएको उनको उम्मेदवारीले कांग्रेसको आगामी नेतृत्वमा नयाँ पुस्ताको स्थान कति बलियो बन्छ भन्ने बहसलाई थप तीव्र बनाएको छ।






















