प्रहार समाचार । तनहुँ, १७ असोज २०७ ८३ शनिबार । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनमा तनहुँको भानु नगरपालिका प्रथम हुन पुगेको छ ।

आयोगले तोकेका १७ वटा सूचकमा भानु नगरपालिका ६६.६१ अंक प्राप्त गर्दै जिल्लाकै पहिलो बनेको हो । म्याग्दे गाउँपालिका ६६.५४ अंकसहित दोस्रो र आँबुखैरेनी गाउँपालिका ६२.१० अंकसहित तेस्रो स्थानमा छन्। यसले सीमित अंकको अन्तरमै पनि स्थानीय तहहरूको कार्यसम्पादनमा फरक अवस्था रहेको देखाएको छ। मूल्याङ्कनमा ऋषिङ गाउँपालिका ५६.९५ अंकसहित चौथो र बन्दीपुर गाउँपालिका पाँचौँ स्थानमा छन्। त्यस्तै शुक्लागण्डकी नगरपालिका ५४.५०, देवघाट गाउँपालिका ५३.७५, घिरिङ गाउँपालिका ५२.८७ र भिमाद नगरपालिका ५२.३४ अंकमा छन्। जिल्लाका १० स्थानीय तहमध्ये व्यास नगरपालिका भने ४५.३५ अंकसहित अन्तिम स्थानमा परेको छ।
जिल्लाको सदरमुकामसमेत रहेको व्यासको अंक अन्य पालिकाको तुलनामा निकै कम देखिनुले सेवा प्रवाहदेखि वित्तीय अनुशासन र योजना कार्यान्वयनसम्मका पक्षमा गम्भीर समीक्षा आवश्यक रहेको संकेत गरेको छ।आयोगको मूल्याङ्कन केवल अंकको प्रतिस्पर्धा नभई स्थानीय तहले कति प्रभावकारी रूपमा सार्वजनिक स्रोत परिचालन, बजेट कार्यान्वयन, वित्तीय अनुशासन र सेवा प्रवाह गरिरहेका छन् भन्ने अवस्थाको सूचकका रूपमा हेरिन्छ। त्यसैले भानुको अग्रता र व्यासको पछिल्लो स्थानले पालिकाहरूलाई आफ्ना कमजोरी पहिचान गरी सुधार गर्ने दबाब बढाएको छ। विशेषगरी व्यासले जिल्लाकै सबैभन्दा कम अंक पाउनु जनप्रतिनिधि र प्रशासनिक नेतृत्वका लागि आत्मसमीक्षाको विषय बनेको छ भने अन्य पालिकाका लागि समेत आगामी कार्यसम्पादन सुधारतर्फ ध्यान केन्द्रित गर्नुपर्ने सन्देश दिएको छ।






















