हेडलाईनसमाचारगण्डकी

लमजुङबाट महाधिवेशन प्रतिनिधिमा विजयी पौडेलले ‘मत होइन विश्वासको जिम्मेवारी’ भन्दै दिए धन्यवाद

• विजय अधिकारी (संवाददाता) लमजुङ, १७ असोज २०८३ शनिबार ।नेपाली कांग्रेस लमजुङका पूर्व जिल्ला सभापति, गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भेषबहादुर पौडेलले नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसङ्गै सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।

निर्वाचित भएपछि पौडेलले आफ्नो पक्षमा मतदान गर्ने लमजुङका पालिका तथा वडा सभापति, क्षेत्रीय प्रतिनिधि, नेता–कार्यकर्ता र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त मतलाई केवल निर्वाचनको अंक नभई आफूहरूप्रति व्यक्त भएको विश्वास, सद्भाव र समर्थनका रूपमा लिएको बताएका छन्।पौडेलले निर्वाचनका क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, समर्थन र शुभेच्छा व्यक्त गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन्। उनले आफूलाई विश्वास गरेर दिएको मतले आगामी दिनमा थप जिम्मेवार बन्न प्रेरित गरेको उल्लेख गर्दै प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

“प्राप्त विश्वासलाई जिम्मेवारीपूर्वक आत्मसात् गर्नेछु, तपाईंहरूको माया, साथ र विश्वासप्रति सदैव ऋणी रहनेछु,” पौडेलले प्रहार समाचारसँगको कुराकानीमा भने। लमजुङ कांग्रेसको संगठनमा लामो समयदेखि सक्रिय पौडेलले जिल्ला सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन् भने हाल गण्डकी प्रदेशसभा सदस्यका रूपमा कार्यरत छन्। पार्टी संगठन र राजनीतिक यात्रामा हासिल गरेको अनुभवसहित महाधिवेशन प्रतिनिधिका रूपमा पाएको नयाँ जिम्मेवारीलाई पार्टी, संगठन र जिल्लाको हितमा उपयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। १ हजार ८२ मतले पौडेललाई महाधिवेशनसम्म पुर्‍याएको मात्र छैन, लमजुङ कांग्रेसभित्र उनको राजनीतिक भूमिकामाथि प्रतिनिधिहरूले राखेको विश्वासलाई पनि स्पष्ट रूपमा उजागर गरेको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button