प्रहार समाचार । तनहुँ, १७ असोज २०८३ शनिबार । बन्दीपुर अस्पतालले सेवाग्राहीलाई लक्षित गर्दै आज एकैदिन हाडजोर्नी तथा नशा रोग र इन्टरनल मेडिसिन विशेषज्ञ सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध हुनेछ।

हाडजोर्नी तथा नशासम्बन्धी समस्या भएका बिरामीसँगै सुगर, प्रेसर, दम, थाइराइड, मुटु तथा मिर्गौलासहितका दीर्घरोगबाट प्रभावित सेवाग्राहीले विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श लिन सक्नेछन्। अस्पतालले विशेषज्ञ सेवा तथा टिकट र परामर्श निःशुल्क उपलब्ध गराउने जनाएको छ। यसले नियमित उपचार तथा विशेषज्ञ परामर्शका लागि टाढा जानुपर्ने सेवाग्राहीलाई सहजता पुग्ने अपेक्षा गरिएको छ।

स्वास्थ्य बीमा कार्ड भएका सेवाग्राहीले आफ्नो बीमा कार्ड तथा पुराना बिरामीले यसअघि गराएका परीक्षणका रिपोर्ट र आवश्यक कागजात साथमा ल्याउन अस्पतालले अनुरोध गरेको छ। थप जानकारीका लागि ९८४६६२८७४५, ९८४६०४२०६२, ९८४६०००१६५ र ९८४६०६३३३१ मा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ।






















