प्रहार समाचार । काठमाडौं, १६ असोज २०८३ शुक्रबार । ग्राहकको जग्गा धितो राखेर ३ करोड ८९ लाख रुपैयाँ कर्जा स्वीकृत गरे पनि रकम निकासा नगरेको आरोपमा प्रभु बैंकका सीईओ सुमन शर्मासहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दायर भएको छ।

अदालतले शर्मासहित चारै जनाका नाममा पक्राउ पुर्जी जारी गरेको छ।प्रतिवादीहरूमा तत्कालीन वीरगञ्ज शाखाका नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र केन्द्रीय कार्यालयका तत्कालीन कर्जा प्रशासन प्रमुख रवीन्द्र केसी छन्। अभियोगअनुसार कर्जा सुरक्षणका लागि ८९ लाख रुपैयाँ मूल्यांकन गरिएको ६ कठ्ठा जग्गा बैंकको नाममा धितो बन्धक तथा रोक्का गरिए पनि स्वीकृत कर्जा ऋणीको खातामा जम्मा गरिएको थिएन।
प्रहरी अनुसन्धानपछि सरकारी वकिल कार्यालयले मिलेमतोमा धितो रोक्का गरी कर्जा निकासा नगरेर सेवाग्राहीलाई नोक्सानी पुर्याएको दाबी गर्दै मुद्दा दायर गरेको हो। पर्साका एसपी पवन भट्टराईले घटनाबारे आवश्यक अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकिएको बताए। प्रतिवादीहरूविरुद्ध ठगी र आपराधिक विश्वासघातमा कारबाहीसँगै ८९ लाख रुपैयाँ बिगो असुल गरी पीडितलाई भराउन माग गरिएको छ।





















