आँबुखैरेनीहेडलाईनसमाचारभानुबन्दीपुरदेवघाटगण्डकी

कांग्रेसको क्षेत्रीय सभापतिमा पौडेलको चर्चा

प्रहार समाचार । तनहुँ, १६ भदौ २०८३ मङ्गलबार । नेपाली कांग्रेसको आगामी महाधिवेशनको तयारी तीव्र बन्दै जाँदा तनहुँ क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापतिका सम्भावित उम्मेदवारका रूपमा युवा नेता नवीनराज पौडेलको नाम चर्चामा आउन थालेको छ। पौडेलले भने हालसम्म आफ्नो उम्मेदवारीबारे औपचारिक घोषणा गरेका छैनन्। उनको सम्भावित उम्मेदवारीको चर्चाले क्षेत्र नम्बर १ को कांग्रेस राजनीतिमा भने नयाँ तरङ्ग सिर्जना गरेको छ।

समर्थकहरूले संगठनात्मक अनुभव, सञ्चार क्षेत्रसँगको लामो आबद्धता र सामाजिक क्षेत्रमा बनाएको सम्बन्धलाई उनको सम्भावित उम्मेदवारीको आधारका रूपमा अघि सारेका छन्। पौडेल विगत २५ वर्षदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय छन्। कांग्रेसको संगठनात्मक तथा सामाजिक गतिविधिमा समेत निरन्तर जोडिँदै आएका उनी पछिल्लो १५ वर्षदेखि नेपाली कांग्रेस केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यका रूपमा जिम्मेवारीमा रहेको बताइएको छ। यसअघि उनले नेपाली कांग्रेस चितवनको जिल्ला सदस्यका रूपमा समेत काम गरेका थिए।

तनहुँ कांग्रेसका विभिन्न समिति तथा संगठनात्मक जिम्मेवारीमा रहेर काम गरिसकेका पौडेलले तनहुँमा सम्पन्न पछिल्ला तीनवटा निर्वाचनमा संगठन परिचालन तथा प्रचार–प्रसारका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेको उनका निकटवर्तीहरूको भनाइ छ। राजनीतिक गतिविधिसँगै पौडेल सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन्। तनहुँका दुर्गम तथा आवश्यकतामा रहेका नागरिकलाई सहयोग, शिक्षा क्षेत्रमा योगदान तथा विभिन्न सामाजिक गतिविधिमार्फत नागरिक समाजसँग सम्बन्ध विस्तार गरेको उनी निकट स्रोतको दाबी छ।

कांग्रेस वृत्तमा पौडेललाई सभापति गगन थापानिकट नेताका रूपमा चर्चा गर्ने गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँगको पारिवारिक सम्बन्धलाई समेत उनको राजनीतिक परिचयको एउटा पक्षका रूपमा हेरिने गरिएको छ। यद्यपि, यी सम्बन्धभन्दा बाहिर उनको संगठनात्मक भूमिका र स्थानीय राजनीतिक सक्रियताले नै उम्मेदवारीको आधार तय गर्ने कांग्रेसका स्थानीय नेताहरू बताउँछन्।

पौडेलका समर्थकहरूले युवालाई कांग्रेस संगठनमा आकर्षित गर्ने, पुरानो पुस्ताको अनुभवलाई नयाँ पुस्तासँग जोड्ने तथा क्षेत्र नम्बर १ को संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने नेतृत्वका रूपमा उनलाई अघि सार्नुपर्ने धारणा राख्दै आएका छन्। तर, पौडेलले उम्मेदवारी दिने औपचारिक निर्णय गरिसकेका छैनन्। उनी उम्मेदवार बन्ने वा नबन्ने निर्णयसँगै सम्भावित उम्मेदवारीले तनहुँ–१ कांग्रेसभित्रको शक्ति समीकरणमा पार्न सक्ने प्रभावलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ। महाधिवेशनको तयारी अघि बढ्दै जाँदा क्षेत्रीय नेतृत्वका आकांक्षीहरू खुल्दै जाने क्रमसँगै तनहुँ–१ को कांग्रेस राजनीति थप प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button