प्रहार समाचार । तनहुँ, १६ भदौ २०८३ मङ्गलवार । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि होटल व्यवसायी संघ तनहुँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३८ हजार १ सय १० जम्मा गरेको छ। बाढीका कारण घरबारविहीन तथा समस्यामा परेका नागरिकलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले संघले उक्त रकम सहयोग गरेको जनाएको छ।

संघका अध्यक्ष गिरीबहादुर थापाले विपद्को पीडामा परेका नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएकाले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिएको बताए।यसैबीच, भदौ १० गते रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा आएको बाढीबाट प्रभावित तथा मृतकका शव पहिचानका लागि आउने आफन्तलाई होटल व्यवसायी संघ तनहुँले निःशुल्क गाँस र बासको व्यवस्था गर्ने भएको छ। संघका अध्यक्ष थापाले बाढीका कारण सर्वसाधारण, उद्योगी–व्यवसायी, निजामती कर्मचारी तथा उनीहरूका परिवारसमेत प्रभावित भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति प्रकट गरेका छन्। होटल तथा पर्यटन व्यवसायले विपद्का समयमा भोजन, आवास तथा आवश्यक मानवीय सहयोग उपलब्ध गराउन सक्ने भएकाले स्थानीय प्रशासनसँग समन्वय गरी आफ्नो सामर्थ्यअनुसार सहयोग गर्न संघ प्रतिबद्ध रहेको उनको भनाइ छ।

संघले विपद्बाट प्रभावित नागरिक तथा मृतकका शव पहिचानका लागि आउने आफन्तलाई आवश्यक सहयोग उपलब्ध गराउन होटल व्यवसायीहरूलाई समेत मानवीय भावनाका साथ सक्रिय हुन आग्रह गरेको छ। अध्यक्ष थापाका अनुसार प्रभावित तथा आफन्तलाई आवश्यक समन्वय र जानकारीका लागि ९८५६०८६६२३ तथा संघको कार्यालय ०६५–५६५७०३ मा सम्पर्क गर्न सकिनेछ। संघले विपद्को कठिन समयमा पीडितलाई साथ दिन व्यवसायसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
















