प्रहार समाचार । तनहुँ, १५ साउन २०८३ शुक्रबार । तनहुँको आँबुखैरेनी गाउँपालिकाको पूर्वाधार विकास तथा भवन नियमन शाखाले आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न गरेका पूर्वाधार विकासका कार्यक्रमहरूको वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ। शाखाले सार्वजनिक गरेको विवरणअनुसार सडक, खानेपानी, भवन नियमन तथा विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरिएको जनाएको छ।

साथै विवरणमा कुनै अस्पष्टता वा जिज्ञासा भए सम्बन्धित शाखामा सम्पर्क गरी जानकारी लिन पनि गाउँपालिकाले अनुरोध गरेको छ। वार्षिक प्रगति विवरणअनुसार आर्थिक वर्षभर १ हजार २६४ मिटर कालोपत्रे सडक निर्माण, ४ हजार ९१८ मिटर कंक्रिट ढलान (रिजिड पेभमेन्ट) सडक निर्माण तथा ३ हजार ५५४ मिटर नयाँ कच्ची सडक (अर्थेन ट्र्याक) खोल्ने कार्य सम्पन्न गरिएको छ। यस्तै १ हजार ६०० मिटर सडकमा ग्रेड मिलाउने, चौडाइ बढाउने, घुम्ती चक्ल्याउनेलगायतका मर्मत तथा स्तरोन्नतिका काम गरिएको उल्लेख छ।

त्यसैगरी ८ सय ८१ मिटर सडक किनारमा नाली निर्माण गरिएको छ भने ८ हजार ५ सय मिटर नयाँ खानेपानी पाइपलाइन विस्तार गरी चार वटा नयाँ धारा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।

यी आयोजनाले स्थानीयवासीलाई सहज यातायात र सुरक्षित खानेपानी सेवामा प्रत्यक्ष लाभ पुगेको अपेक्षा गरिएको छ।भवन नियमनतर्फ नागरिकलाई निःशुल्क घरनक्सा तयार गरी घरनक्सा पास प्रक्रियालाई सहज बनाइएको शाखाले जनाएको छ। साथै विपद् व्यवस्थापन तथा नियमित मर्मत–सम्भारसम्बन्धी आवश्यक कार्यहरू पनि आर्थिक वर्षभर सञ्चालन गरिएको उल्लेख गर्दै गाउँपालिकाले पूर्वाधार विकासलाई आगामी वर्षहरूमा समेत प्राथमिकताका साथ अघि बढाइने जनाएको छ।















