हेडलाईनसमाचारबागमती

सुनसरी घटनामा प्रधानमन्त्री बालेनको कडा सन्देश : दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिलाइने

प्रहार समाचार । काठमाडौं, १४ साउन २०८३ बिहीबार । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीमाथि कानुनबमोजिम कडा कारबाही गरिने र पीडित परिवारलाई न्याय तथा क्षतिपूर्ति उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन्। उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। प्रधानमन्त्रीले आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई एक नागरिकका रूपमा पनि घटनाबाट अत्यन्त दुःखी भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले सामान्य घटनाबाट सुरु भएको तनावले हिंसात्मक रूप लिँदा जनधनको क्षति हुनु अत्यन्त दुःखद भएको उल्लेख गर्दै समाजमा डर, अविश्वास र विभाजन सिर्जना हुने अवस्था कसैले पनि नचाहेको बताएका छन्। सुरक्षाकर्मीको गोलीबाट नागरिकको मृत्यु तथा घाइते भएको घटनालाई कुनै पनि हालतमा सामान्य रूपमा लिन नसकिने स्पष्ट पार्दै यस विषयमा अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनी कारबाही हुने विश्वास दिलाएका छन्। सरकारले सम्पूर्ण घटनाक्रमको गम्भीर समीक्षा गरिरहेको पनि उनले बताएका छन्।

उनले मृतकका परिवार तथा घाइतेलाई न्यायको अनुभूति गराउन सरकारले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने बताउँदै यस्ता घटना दोहोरिन नदिन तत्काल आवश्यक निर्णयहरू अघि बढाइएको जानकारी दिएका छन्। घटनाको सुरुदेखि नै सरकार सक्रिय भए पनि त्यसलाई पर्याप्त बनाउन नसकिएको स्वीकार गर्दै आगामी दिनमा सुरक्षा व्यवस्था, कानुनी प्रक्रिया र सरकारी संयन्त्रलाई थप प्रभावकारी बनाइने बताएका छन्। सरकारले आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्दै दोषीलाई कानुनी दायरामा ल्याउने दायित्वबाट पछि नहट्ने उनको भनाइ छ।

प्रधानमन्त्री शाहले सबै नागरिकलाई संयम अपनाउन, आक्रोश, प्रतिशोध र उत्तेजनाबाट टाढा रहन तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। उनले धर्मले पनि मानव जीवनको रक्षा गर्न सिकाउने उल्लेख गर्दै सबैभन्दा ठूलो धर्म मानिस जोगाउनु भएको बताएका छन्। कुनै पनि उक्साहट वा हिंसात्मक गतिविधिमा सहभागी नहुन आग्रह गर्दै प्रेम, सहिष्णुता र आपसी सम्मानमार्फत सामाजिक एकता कायम राख्न सबै पक्षलाई आह्वान गरेका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button