प्रहार समाचार । तनहुँ, १४ साउन २०८३ बिहीबार । इलाका प्रहरी कार्यालय बन्दीपुरले आज बन्दीपुर गाउँपालिकाको सभा हलमा नागरिक सुनुवाइ कार्यक्रम आयोजना गर्दै सवारी दुर्घटना न्यूनीकरण, लागूऔषध नियन्त्रण तथा समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको सन्देश दिएको छ।

कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सुरक्षित, अनुशासित र सभ्य समाज निर्माणका लागि प्रहरी र स्थानीय सरकारबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने उल्लेख गर्दै नागरिक स्वयं पनि कानुनको पालना र सामाजिक उत्तरदायित्वप्रति सचेत हुनुपर्नेमा जोड दिए।

गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले अपराध तथा लागूऔषध नियन्त्रणमा परिवार, विद्यालय र समुदायको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरिन्।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले नागरिकको सहयोगबिनाको सुरक्षा अभियान प्रभावकारी हुन नसक्ने उल्लेख गर्दै समुदाय–प्रहरी साझेदारी, कानुनी सचेतना र अपराध नियन्त्रणमा सबैको सक्रिय भूमिका आवश्यक रहेको बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी निरीक्षक प्रदीप थापाले ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन र चालक तथा यात्रुको जिम्मेवार व्यवहारले मात्र दुर्घटना न्यूनीकरण सम्भव हुने उल्लेख गरे।

कार्यक्रममा सवारी दुर्घटना, ट्राफिक सचेतना तथा लागूऔषध दुव्र्यसनसम्बन्धी विषयमा विस्तृत जानकारी पनि प्रदान गरिएको थियो।

प्रस्तुत तथ्याङ्कअनुसार विश्वभर प्रत्येक वर्ष करिब ३५ लाखभन्दा बढी सवारी दुर्घटनाका घटनामा करिब ३१ लाख मानिसले ज्यान गुमाउने गरेका छन् भने २ देखि ५ करोड मानिस घाइते हुने गरेका छन्। नेपालमा पनि प्रत्येक वर्ष करिब २ हजारदेखि २ हजार ५ सयभन्दा बढी व्यक्तिको सवारी दुर्घटनामा मृत्यु हुने तथा १२ हजारभन्दा बढी घाइते हुने गरेका छन्। औसतमा नेपालमा हरेक दिन २ देखि ५ जनाले सडक दुर्घटनामा ज्यान गुमाउने तथ्य प्रस्तुत गर्दै ट्राफिक नियम पालना गर्नु नै जीवन रक्षा गर्ने सबैभन्दा प्रभावकारी उपाय भएको वक्ताहरूले औँल्याए।

कार्यक्रममा क्षेत्रीय होटल संघ बन्दीपुर बजार इकाई, उद्योग वाणिज्य संघ बन्दीपुर इकाई, स्थानीय व्यापारी, उद्योगी, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले लागूऔषधको समस्या पनि भुसको आगोजस्तै तीव्र रूपमा फैलिरहेको भन्दै आफ्ना बालबालिकाको गतिविधिप्रति अभिभावक सचेत हुनुपर्ने, उचित रेखदेख र निगरानी गर्नुपर्ने तथा सुरक्षित समाज निर्माणका लागि प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने सन्देश दिएका थिए।




















