प्रहार समाचार । तनहुँ, ३१ असार २०८३ बुधबार । तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा उद्योग, पर्यटन, श्रम तथा रोजगार प्रवर्द्धनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। नगरपालिकाको उद्योग, पर्यटन, श्रम तथा रोजगार प्रवर्द्धन शाखाले निर्माण व्यवसाय, उद्यम विकास, वैदेशिक रोजगार, सहकारी व्यवस्थापन तथा आप्रवासी सेवासँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै सेवाप्रवाहलाई प्रभावकारी बनाएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । क

शाखाले घ वर्ग निर्माण व्यवसायीका ५४ वटा इजाजतपत्र नवीकरण गरेको छ। सात वटा स्लेट ढुङ्गा उत्खनन उद्योग दर्ता, चार वटा नवीकरण, १२ वटा स्लेट ढुङ्गा कटिङ उद्योग दर्ता, १० वटा नवीकरण तथा दुई वटा नयाँ ढुङ्गा कटिङ उद्योग दर्ता गरिएको छ। दुई वटा होमस्टेको इजाजतपत्र नवीकरण गरिएको छ भने ढुङ्गा खानीका सञ्चालक र श्रमिक गरी १०० जनालाई सुरक्षा तथा आचरणसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ। स्लेट ढुङ्गा उत्खनन उद्योगलाई पुनः प्रारम्भिक वातावरणीय परीक्षण (IEE) गराई निरन्तर नियमन गरिएको तथा व्यास–१ का राममणि मिश्र र भोजबहादुर दरैको जग्गा खार्ने कार्यबाट निस्किएको माटो बिक्री गरी नौ लाख रुपैयाँ आम्दानी गरिएको उनले जानकारी दिए।
शाखाले मेड्पा कार्यक्रमअन्तर्गत वडा नं. ३ मा जनप्रतिनिधि र टोल अध्यक्षलाई अभिमुखीकरण, ४० जना नयाँ उद्यमीको समूह गठन तथा ३७ जनालाई आठदिने उद्यमशीलता विकास तालिम सञ्चालन गरेको जनाएको छ। व्यास–३ का ११ जना नयाँ उद्यमीका लागि दुई महिने सिलाइ–कटाइ तालिम र एकमहिने बेकरी तालिम सञ्चालन भइरहेको छ। वडा नं. २ का २४ जना पुराना उद्यमीलाई सिलाइ–कटाइ तथा ब्युटिपार्लर स्तरोन्नति तालिम प्रदान गरिएको छ भने वडा नं. २ र ३ का सिलाइ समूहलाई १५ थान सिलाइ मेसिन वितरण गरिएको छ। व्यवसाय सञ्चालन गरिरहेका ३५ जना महिला उद्यमीलाई एड्भान्स ब्युटिसियन तालिमसमेत प्रदान गरिएको छ।वैदेशिक रोजगार तथा रोजगार प्रवर्द्धनतर्फ शाखाले १८४ जनाको श्रम स्वीकृतिमा सहजीकरण गरेको, श्रमिकका परिवारका ६ जनालाई स्वास्थ्य उपचार सहयोग, मृत्यु भएका श्रमिकका पाँच परिवारलाई राहत तथा अङ्गभङ्ग भएका पाँच जनालाई उपचार सहयोग उपलब्ध गराएको जनाएको छ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका १३ जना सन्ततीको छात्रवृत्तिका लागि सहजीकरण गरिएको छ भने विदेशबाट फर्किएका ३४ जनालाई उद्यमशीलता प्रवर्द्धन कार्यक्रममा सहभागी गराइएको छ। पूर्वसिकाइको मान्यता (RPL) अन्तर्गत ४१ जनाको विवरण प्रविष्टि गरिएको तथा दक्ष कामदारको नक्साङ्कनका लागि एक हजार ६९९ जनाको तथ्याङ्क संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए।उनका अनुसार नगरपालिकाको आप्रवासी स्रोत केन्द्रबाट एक हजार ७४८ जनालाई सूचना सेवा प्रदान गरिएको छ भने स्वयंसेवकमार्फत एक हजार २२० जनासम्म सेवा पुगेको छ।
विभिन्न वडामा सञ्चालन गरिएका रिटर्नी अभिमुखीकरण, वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रमबाट सयौँ नागरिक लाभान्वित भएका छन्। साथै वैदेशिक रोजगारीसम्बन्धी दर्ता भएका ४६ वटा उजुरीमध्ये २० वटा समस्या समाधान गरिएको, १४ महिलालाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको तथा सहकारी क्षेत्रतर्फ ६९ जनालाई लेखा व्यवस्थापन तालिम, ५९ वटा सहकारीबाट वार्षिक प्रतिवेदन संकलन, १५ वटा सहकारी अध्यावधिक र ३० वटा सहकारी संस्थाको अनुगमन सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए।















