प्रहार समाचार । तनहुँ, ३० असार २०८३ मंगलबार । लगातारको वर्षापछि तनहुँसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा पहिरोको जोखिम उच्च बन्दै गएको छ। आज बिहान तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर (चुनपहरा) मा पहिरो खस्दा पृथ्वीराजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी सडकखण्ड केही समय अवरुद्ध भयो।

त्यस्तै, व्यास नगरपालिका–१ मुझेखोला नजिकै पनि पहिरो खस्दा सडक एकतर्फी रूपमा सञ्चालन गर्नुपरेको छ। यी घटना वर्षायामसँगै बढ्दो प्राकृतिक जोखिमका प्रतिनिधि उदाहरण मात्र भएको भन्दै सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। तनहुँका विभिन्न स्थानसँगै लमजुङ, गोरखा, बागलुङ, स्याङ्जा तथा अन्य पहाडी जिल्लाका राजमार्ग र ग्रामीण सडकहरू पहिरो तथा ढुङ्गा खस्ने उच्च जोखिममा रहेका छन्। निरन्तरको वर्षाका कारण सडक सञ्जाल प्रभावित हुने, सवारी आवागमन अवरुद्ध हुने र मानवीय क्षति हुन सक्ने सम्भावना बढेकाले यात्रु तथा सवारी चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँले वर्षा अझै जारी रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नै परे सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र गन्तव्यतर्फ निस्कन सबैमा अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले रातिको यात्रा, जोखिमयुक्त भीर तथा पहिरो प्रभावित सडक प्रयोग गर्दा थप सतर्कता अपनाउन आग्रह गरेका छन् ।त्यसैगरी मर्स्याङ्दी, सेती, मादी, त्रिशूली, कालीगण्डकीलगायत नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीको बहाव बढ्न सक्ने भएकाले सुरक्षित स्थानमा रहन र कुनै पनि जोखिमपूर्ण गतिविधि नगर्न सचेत गराइएको छ। प्राकृतिक विपद् कुनै पनि बेला ठूलो दुर्घटनामा परिणत हुन सक्ने भएकाले अफवाहभन्दा आधिकारिक सूचनामा विश्वास गर्दै सुरक्षा निकाय र प्रशासनका निर्देशन पालना गर्न प्रहार अनलाइनमार्फत पनि सबैमा आग्रह गरिएको छ।















