हेडलाईनव्याससमाचारगण्डकीविजनेस

‘हल्लाका आधारमा होइन, तथ्यका आधारमा विश्वास गर्नुस्’ : नगर प्रमुख न्यौपाने

प्रहार समाचार । तनहुँ, ३० असार २०८३ मंगलबार । तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बर्ड फ्लुसम्बन्धी आधारहीन हल्ला र अफवाहको पछि नलागी सम्बन्धित सरकारी निकायबाट प्राप्त आधिकारिक तथ्य र सूचनामा मात्रै विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। तनहुँ लेयर्स कुखुरा पालक किसान संघद्वारा दमौलीस्थित अनसन चौतारीमा आयोजित बर्ड फ्लु तथा कुखुराजन्य रोगसम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले तनहुँमा हाल बर्ड फ्लुको कुनै संक्रमण नदेखिएको स्पष्ट पार्दै अनावश्यक हल्लाले किसान, व्यवसायी र उपभोक्ता सबैलाई प्रत्यक्ष रूपमा असर पुर्‍याउने भएकाले सचेत रहनुपर्ने बताए।

उनले अण्डा तथा कुखुराजन्य उत्पादन पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण खाद्यवस्तु भएको उल्लेख गर्दै अपुष्ट सूचना र भ्रमका आधारमा यसको उपभोग घटाउनु उचित नहुने धारणा राखे। “सम्बन्धित निकायले सार्वजनिक गर्ने आधिकारिक सूचना नै विश्वासको आधार हुनुपर्छ,” उनले भने, “सुरक्षित उत्पादन, स्वस्थ उपभोग र उपभोक्ताको विश्वास कायम गर्न सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक छ।”

कार्यक्रममा जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख रबिन्सन अधिकारीले जिल्लामा हालसम्म बर्ड फ्लुको कुनै संक्रमण पुष्टि नभएको जानकारी दिए। उनले सामाजिक सञ्जाल वा अपुष्ट स्रोतबाट फैलिने अफवाहका आधारमा भ्रम सिर्जना नगर्न आग्रह गर्दै कुनै शंका वा असामान्य अवस्था देखिए तत्काल सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने बताए।प्रमुख अधिकारीका अनुसार जिल्लामा नियमित रूपमा रोगको निगरानी, नमुना परीक्षण तथा जैविक सुरक्षा (बायो–सेक्युरिटी) मापदण्डको प्रभावकारी कार्यान्वयन भइरहेको छ। पशुपन्छीको स्वास्थ्य सुरक्षाका लागि सम्बन्धित निकाय निरन्तर सक्रिय रहेकाले सर्वसाधारणलाई अनावश्यक त्रासमा नपर्न उनले आग्रह गरे।

तनहुँ लेयर्स कुखुरा पालक किसान संघको आयोजनामा सम्पन्न कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि, कुखुरा किसान, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमको अवसरमा सहभागीहरूलाई निःशुल्क उसिनेको अण्डा वितरण गरिएको थियो। कार्यक्रमस्थलमै अण्डा उसिनेर वितरण गर्दै आयोजकले सुरक्षित अण्डा उपभोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै बर्ड फ्लुसम्बन्धी भ्रम चिर्ने सन्देश प्रवाह गरेको जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button