हेडलाईनसमाचारगण्डकीविजनेसऋषिङ

तनहुँको अजम्मरी कृषि सहकारीद्वारा लाखौं रुपैयाँ हिनामिना, पीडितको रकम फिर्ता गराउन माग

प्रहार समाचार । तनहुँ, ३० असार २०८३ मंगलबार । तनहुँको ऋषिङ गाउँपालिका–८ रानीपोखरीस्थित अजम्मरी कृषि सहकारी संस्था लिमिटेडले बचतकर्ताको लाखौं रुपैयाँ हिनामिना गरेको सार्वजनिक भएको छ। चार वर्षदेखि सहकारी बन्द रहेको र बचतकर्ताले आफ्नो रकम फिर्ता नपाएको भन्दै झुलबहादुर आले प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आलेले आज दमौलीमा पत्रकार सम्मेलन गरी पीडितको समस्या सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मेलनमा सहकारीका अध्यक्ष सुरजकुमार श्रेष्ठको नेतृत्वमा बचतकर्ताको रकम अपचलन भएको आरोप लगाउँदै सम्बन्धित निकायले तत्काल छानबिन गरी पीडितलाई न्याय दिलाउन माग गरिएको छ।पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका निवेदनहरूमा विभिन्न बचतकर्ताले सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएको उल्लेख छ।

धुमाया थापाले आफूले बचत गरेको रकममध्ये केही मात्रै फिर्ता पाएको र अझै ठूलो रकम बाँकी रहेको दाबी गरेकी छन्। त्यस्तै रामबहादुर आलेले सहकारीमा रहेको ५३ हजार बचत फिर्ता नपाएको तथा आफ्नो पासबुकसमेत सहकारी अध्यक्षले लिएर फिर्ता नगरेको आरोप लगाएका छन्। बेनी आलेले विदेशबाट पठाइएको रकममध्ये १५ हजार मात्रै फिर्ता पाएको र बाँकी ८५ हजार अपचलन भएको दाबी गर्दै रकम फिर्ता गराइदिन माग गरेकी छन्। पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विवरणअनुसार भीमकुमारी आले, किस्मत क्षेत्री, सविता थापा, शान्ति थापा क्षेत्री, रामबहादुर आले, सनम श्रेष्ठ, सुदीप श्रेष्ठ, सुमिना श्रेष्ठ, इन्द्रबहादुर थापा, दुर्गाबहादुर थपालगायत दर्जनौं बचतकर्ताले रकम फिर्ता नपाएको गुनासो गरेका छन्।

यसैबीच, राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पनि यस विषयमा चासो देखाएको छ। प्राधिकरणले २०८३ असार १६ गते अजम्मरी कृषि सहकारी संस्था लिमिटेडका नाममा पत्राचार गर्दै बचतकर्ता भवीकुमारी आलेले दिएको निवेदनका आधारमा संस्थाका अध्यक्षसँग टेलिफोनमा छलफल भएको जनाएको छ। प्राधिकरणका अनुसार अध्यक्षले ३० हजार फिर्ता गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै सो प्रतिबद्धता कार्यान्वयन भए वा नभएको जानकारी प्राधिकरणलाई उपलब्ध गराउन अनुरोध गरिएको छ। उक्त पत्र प्राधिकरणकी अधिकृत बिनिता धितालले हस्ताक्षर गरी पठाएकी छन्।

पीडितहरूले सहकारीमा जम्मा गरेको बचत फिर्ता नपाउँदा आर्थिक र मानसिक रूपमा ठूलो मारमा परेको बताएका छन्। पत्रकार सम्मेलनमा झुलबहादुर आले प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आलेले सहकारीका नाममा सर्वसाधारणको विश्वासमाथि खेलबाड भएको आरोप लगाउँदै सम्बन्धित सरकारी निकाय, सहकारी विभाग तथा जिल्ला प्रशासन कार्यालयलाई घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र पीडितको रकम यथाशीघ्र फिर्ता गराउन माग गरे। यद्यपि, सहकारीका अध्यक्ष सुरजकुमार श्रेष्ठ वा अजम्मरी कृषि सहकारी संस्था लिमिटेडको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी रहेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button