‘पूर्वी नेपालको पहाडी भूभागमा अवस्थित खोटाङ प्राकृतिक सौन्दर्यले मात्र होइन, धार्मिक तथा सांस्कृतिक विविधताको अनुपम केन्द्रका रूपमा पनि परिचित रहेछ। त्यहाँ पुगेर मैले महसुस गरेको सबैभन्दा गहिरो अनुभूति थियो– हलेसी महादेवसँगको साक्षात्कार । एउटै स्थलमा तीन फरक धार्मिक आस्था यसरी एकाकार भएको दृश्य साँच्चिकै अद्भुत लाग्यो। त्यसैले यो यात्रा केवल भ्रमणमा सीमित रहेन, बरु आस्था, संस्कृति र सहअस्तित्वको जीवन्त पाठ बन्यो।’ भन्दै पत्रकार विजय अधिकारी आफ्नो संस्माणमा लेख्छन् :

शिक्षक साकोस लमजुङको अवलोकन भ्रमणका क्रममा हालै खोटाङ जिल्ला पुग्ने अवसर मिल्यो। पूर्वी नेपालको पहाडी भूभागमा अवस्थित खोटाङ प्राकृतिक सौन्दर्यले मात्र होइन, धार्मिक तथा सांस्कृतिक विविधताको अनुपम केन्द्रका रूपमा पनि परिचित रहेछ। त्यहाँ पुगेर मैले महसुस गरेको सबैभन्दा गहिरो अनुभूति थियो– हलेसी महादेवसँगको साक्षात्कार।हलेसीलाई हिन्दु धर्मावलम्बीहरूले ‘पूर्वको पशुपतिनाथ’, बौद्ध धर्मावलम्बीहरूले ‘दोस्रो लुम्बिनी’ अथवा मरातिका गुफा, र किराँत समुदायले आदिम पुर्खाको पवित्र भूमिका रूपमा मान्ने रहेछन्।

एउटै स्थलमा तीन फरक धार्मिक आस्था यसरी एकाकार भएको दृश्य साँच्चिकै अद्भुत लाग्यो। त्यसैले यो यात्रा केवल भ्रमणमा सीमित रहेन, बरु आस्था, संस्कृति र सहअस्तित्वको जीवन्त पाठ बन्यो। हलेसी तुवाचुङ नगरपालिका–७ मा रहेको हलेसी महादेव मन्दिर परम्परागत शैलीको मन्दिर नभई विशाल प्राकृतिक गुफाभित्र अवस्थित छ। समुद्री सतहबाट करिब ४ हजार ७ सय ३४ फिट उचाइमा रहेको यो गुफा हजारौँ वर्ष पुरानो प्राकृतिक संरचना भएको विश्वास गरिन्छ। गुफाको विशालता, शान्त वातावरण र भित्री भागमा बनेका प्राकृतिक शिलाहरूले पहिलो नजरमै मन मोहिदिन्छन्।मूल प्रवेशद्वारबाट करिब ६० मिटर तल झर्दै गुफाभित्र पुग्दा वातावरण नै बदलिन्छ। बाहिरको उज्यालो संसारबाट अँध्यारो, चिसो र रहस्यमय संसारमा प्रवेश गरेको अनुभूति हुन्छ। गुफाभित्र प्रवेश गर्दा सर्वप्रथम पार्वतीको स्थान देखिन्छ।

परम्पराअनुसार भने पहिले महादेवको पूजा गरी त्यसपछि मात्र पार्वतीको दर्शन गर्नुपर्ने चलन रहेछ। अगाडि बढ्दै जाँदा ‘पापद्वार’ र ‘पुण्यद्वार’ भेटिन्छन्। विशेषगरी ‘पुण्यद्वार’ साँघुरो भएकाले त्यसबाट छिर्न सक्ने धर्मात्मा र नसक्ने पापी हुने जनविश्वास रहेछ। तीर्थयात्रीहरू त्यसैबाट प्रवेश गर्न उत्साहित देखिन्थे। उनीहरूको श्रद्धा र विश्वासले त्यो क्षणलाई अझ रोचक बनाइदिएको थियो।गुफाको मध्यभागमा प्राकृतिक रूपमा बनेको शिवस्वरूप शिलामा श्रद्धालुहरूले पूजा गर्ने गर्दारहेछन्।

त्यसको वरिपरि गणेश, विष्णु, ब्रह्मा र कुमारका प्रतीकात्मक शिलाहरू छन्। ती सबैलाई सुरक्षित राख्न आकर्षक घेराबार गरिएको छ। त्यहाँ पुगेपछि प्रकृतिले नै कुनै दिव्य शक्तिको मूर्ति सिर्जना गरेको अनुभूति हुन्छ।हलेसी परिसरमा महादेव गुफासँगै बसाहा गुफा र भैरव गुफा पनि छन्। पहाडको टुप्पोमा रहेका यी तीन गुफालाई शिवका तीन नेत्रको प्रतीक मानिने रहेछ। तीमध्ये बसाहा गुफा सबैभन्दा विशाल रहेछ। गुफाभित्रका प्राकृतिक शिलाहरूले अनेक आकृति बनाएका छन्।

हिन्दुहरूले तिनलाई देवी–देवताका रूपमा पूजा गर्छन् भने बौद्ध धर्मावलम्बीहरूले गुरु पद्मसम्भव तथा डाकिनी देवीसँग सम्बन्धित पवित्र प्रतीकका रूपमा श्रद्धा व्यक्त गर्छन्।बसाहा गुफाभित्र गाईका थुनजस्ता आकृतिबाट निरन्तर पानी चुहिरहेको देख्दा म निकै चकित भएँ। त्यसलाई कामधेनु गाईको दूधसरह पवित्र मानेर श्रद्धालुहरूले शिरमा छर्कने, आचमन गर्ने र प्रसादका रूपमा ग्रहण गर्ने रहेछन्। स्थानीय विश्वासअनुसार त्यस जलले पाप नाश हुने, रोग हट्ने र मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ।गुफाको बाहिरी भागमा रहेको क्षिमेत ताक्तेन क्षोलिङ गुम्बा, गणेश मन्दिर र उत्तरतर्फको मञ्जुश्री पर्वतले हलेसीको धार्मिक महत्त्वलाई अझ फराकिलो बनाएका छन्।

गुम्बाभित्र गौतम बुद्ध, अवलोकितेश्वर र गुरु पद्मसम्भवका मूर्तिहरू अवलोकन गर्दा हिन्दु र बौद्ध संस्कृतिको अद्भुत सहअस्तित्व स्पष्ट देख्न सकिन्छ।यस यात्राको सबैभन्दा स्मरणीय पक्ष भने एउटै गुफाभित्र फरक–फरक धार्मिक परम्परा समान सम्मानका साथ अभ्यास भइरहेको दृश्य थियो। कतै हिन्दु श्रद्धालु पूजा–आराधनामा तल्लीन थिए, कतै बौद्ध भिक्षु मन्त्र जपिरहेका थिए भने अर्कोतर्फ किराँत समुदाय मुन्धुम पाठ गरिरहेको देखिन्थ्यो। धर्म फरक भए पनि आस्थाको केन्द्र एउटै हुनु नेपाली समाजको धार्मिक सहिष्णुताको अनुपम उदाहरण लाग्यो।स्थानीयका अनुसार बुद्ध पूर्णिमा, ल्होसार, महाशिवरात्रि, रामनवमी, तीज, बालाचतुर्दशी तथा वैशाख र मङ्सिर पूर्णिमाका अवसरमा यहाँ ठूलो मेला लाग्ने रहेछ।

पशुपतिनाथमा जस्तै साँझको आरती पनि यहाँको अर्को आकर्षण रहेछ, जसले वातावरणलाई अझ आध्यात्मिक बनाइदिन्छ।हलेसी महादेवको दर्शनले दुःखबाट मुक्ति, सन्तान प्राप्ति, निरोगी जीवन र मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। धार्मिक आस्था जे भए पनि हलेसी पुग्ने जो–कोहीले प्रकृति, संस्कृति र आध्यात्मिकताको अनुपम संगम अनुभव गर्न सक्छ।मेरो लागि हलेसी यात्रा केवल एउटा धार्मिक स्थलको अवलोकन थिएन; यो नेपाली समाजको बहुधार्मिक सहिष्णुता, सांस्कृतिक समृद्धि र प्रकृतिको अद्वितीय सिर्जनासँगको आत्मीय भेट थियो।
यस्ता अमूल्य सम्पदाको संरक्षण, व्यवस्थित विकास र अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्न सके धार्मिक पर्यटनका माध्यमबाट देशको समृद्धिमा महत्वपूर्ण योगदान पुग्नेमा कुनै शंका छैन। हलेसीबाट फर्कँदा मनमा एउटै भावना थियो—आस्था फरक हुन सक्छ, तर श्रद्धाले सबैलाई एउटै बाटोमा उभ्याउन सक्छ।
✍️ अधिकारी प्रहार अनलाई मिडियामा आवद्द लमजुड़का पत्रकार हुन्। ( सम्पादक) ३० असार २०८३















