हेडलाईनसमाचारभानुगण्डकी

भानु–बन्दीपुर जोड्ने चुँदी खोला मोटरेबल पुल उद्घाटन, आवागमनसँगै विकासमा टेवा पुग्ने अपेक्षा

प्रहार समाचार । २९ असार २०८३ सोमबार । तनहुँको भानु नगरपालिका–१ र बन्दीपुर गाउँपालिका–४ जोड्ने चुँदी खोला मोटरेबल पुल सोमबार उद्घाटन गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय, तनहुँमार्फत निर्माण सम्पन्न भएको ४० मिटर लामो उक्त पुलको आज उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पुल सञ्चालनमा आएपछि स्थानीयवासीको आवागमन सहज हुनुका साथै शिक्षा, स्वास्थ्य, कृषि, व्यापार तथा पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। प्रदेश सरकारले विकास निर्माणका पूर्वाधारलाई प्राथमिकतामा राखेर नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यअनुसार यस्ता आयोजनालाई अघि बढाएको उनले बताए।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोक श्रेष्ठले पुल निर्माणसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिले थप गति लिने बताए। उनले स्थानीय आवश्यकता र दीर्घकालीन विकासलाई केन्द्रमा राखेर पूर्वाधार विस्तारलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले चुँदी खोला मोटरेबल पुल स्थानीयवासीको लामो समयदेखिको आवश्यकता पूरा भएको उल्लेख गरे। पुल सञ्चालनमा आएपछि भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाबीचको आवागमन सहज भई स्थानीय उत्पादनको बजारीकरण, सेवा प्रवाह तथा समग्र क्षेत्रीय विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास उनले व्यक्त गरे।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button