प्रहार समाचार । तनहुँ, २३ असार २०८३ मंगलबार । तनहुँको बन्दीपुरस्थित बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले केबलकार सेवा तथा साहसिक (एडभेन्चर) गतिविधिहरूको टिकट शुल्क वृद्धि गरेको छ। कम्पनीको सञ्चालक समितिको असार १९ गते बसेको बैठकले सेवा शुल्क पुनरावलोकन गरी नयाँ भाडादर लागू गर्ने निर्णय गरेको हो।

संशोधित शुल्क आगामी आर्थिक वर्ष २०८३/८४ को प्रारम्भसँगै साउन १ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार सेवा गुणस्तरमा निरन्तर सुधार, पर्यटकमैत्री सेवा विस्तार तथा सञ्चालन व्यवस्थापनलाई थप प्रभावकारी र दिगो बनाउने उद्देश्यले टिकट शुल्क संशोधन गरिएको हो। नयाँ व्यवस्थाअनुसार नेपाली नागरिकले अब केबलकार चढ्न ६ सय रुपैयाँ, सार्क राष्ट्रका नागरिकले ८ सय ५० रुपैयाँ र अन्य विदेशी पर्यटकले १ हजार रुपैयाँ तिर्नुपर्नेछ। यस्तै विद्यार्थीका लागि टिकट शुल्क ३ सय ५० रुपैयाँबाट बढाएर ४ सय रुपैयाँ कायम गरिएको छ।
त्यस्तै स्काई साइकलिङ तथा जिपलाइन सेवाको शुल्क पनि ३ सय ६० रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ। यसअघि लागू रहेको सबै पुरानो शुल्क साउन १ गतेदेखि स्वतः प्रतिस्थापन हुनेछन्। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. रोमन मान श्रेष्ठद्वारा जारी सूचनामा संशोधित शुल्कअनुसार सेवा लिन सम्पूर्ण सेवाग्राही, पर्यटक तथा सरोकारवालालाई अनुरोध गरिएको छ। कम्पनीले आफ्ना सेवाप्रति निरन्तर विश्वास, साथ र सहयोग गर्ने सबैप्रति आभारसमेत व्यक्त गरेको छ।














