प्रहार समाचार । तनहुँ, २१ असार २०८३ आइतबार । तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवनिर्वाचित कार्यसमितिको आज पदस्थापन गरिएको छ। एक कार्यक्रमका बीच व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले नवनिर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको जिम्मेवारी ग्रहण निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन्।

कार्यक्रममा नगर प्रमुख न्यौपानेले संस्थाले पारदर्शिता, सुशासन र उपभोक्तामैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखी जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले खानेपानीजस्तो आधारभूत सेवाको गुणस्तर सुधार र दिगो व्यवस्थापनका लागि नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा व्यास–१ का वडा अध्यक्ष रमेशचन्द्र हड्खलेले संस्थाले उपभोक्ताको विश्वास कायम राख्दै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले खानेपानी सेवाको नियमितता, गुणस्तर र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्न नवनिर्वाचित समितिलाई आग्रह गरे।
नवनिर्वाचित अध्यक्ष सन्त तामाङले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण उपभोक्ताप्रति आभार व्यक्त गर्दै संस्थाको हित, पारदर्शी व्यवस्थापन र गुणस्तरीय खानेपानी सेवा विस्तारका लागि प्रतिबद्ध भएर काम गर्ने बताए। उनले सबै पदाधिकारी, सदस्य तथा उपभोक्तासँग सहकार्य गर्दै संस्थालाई थप प्रभावकारी र उत्तरदायी बनाउने प्रतिबद्धता जनाए। गत शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा सन्त तामाङ निर्वाचित भएका थिए भने अध्यक्षबाहेक अन्य सबै पदाधिकारी यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।
संस्थाको उपाध्यक्षमा राजेश्वर हड्खले, सचिवमा विष्णुबहादुर बस्नेत, कोषाध्यक्षमा सहवीर उच्चै तथा सहसचिवमा शान्ता खवास निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक केशव भट्टराईका अनुसार संस्थाको सदस्यमा सुरेन्द्र दरै, चन्द्रीदेवी तिवारी श्रेष्ठ, दिपा आचार्य, अप्सरा रानाभाट, श्रीभद्र कंडेल, सञ्जय गुरुङ, गङ्गाप्रसाद पोख्रेल र सोमनाथ पौडेल पनि निर्विरोध निर्वाचित भएका छन्। नवगठित कार्यसमितिले आगामी कार्यकालमा संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र उपभोक्तामुखी बनाउने अपेक्षा गरिएको छ।













