• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, २१ असार २०८३ आइतबार । जिल्ला ट्राफिक प्रहरी कार्यालय, लमजुङको समन्वय तथा सहकार्यमा जिल्लाका विभिन्न स्थानमा सवारी साधनको कागजात, यान्त्रिक अवस्था र प्रदूषण मापनसम्बन्धी विशेष अनुगमन अभियान सञ्चालन गरिएको छ। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत यातायात व्यवस्था कार्यालय, तनहुँ (डुम्रे) का निमित्त कार्यालय प्रमुख गोपाल वलीको नेतृत्वमा खटिएको प्राविधिक टोली, लमजुङ कालिका यातायात प्रा.लि.का कार्यालय प्रमुख रामकृष्ण बराल तथा जिल्ला ट्राफिक प्रहरीको संयुक्त टोलीले बेँसीसहर नगरपालिका–२ भकुण्डे र मर्स्याङ्दी गाउँपालिका–३ खुदी क्षेत्रमा सवारी चेकजाँच गरेको हो।

अनुगमनका क्रममा जिल्लाभित्र सञ्चालनमा रहेका साना तथा ठूला सवारी साधनको आवश्यक कागजात, जाँचपास, सवारीको प्राविधिक अवस्था, प्रदूषण मापन तथा मेकानिकल परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, लमजुङका प्रमुख गौतम खत्रीले जानकारी दिए। सडक सुरक्षासँगै मापदण्डविपरीत सञ्चालन भइरहेका सवारी साधन पहिचान गर्ने उद्देश्यले विस्तृत परीक्षण गरिएको उनले बताए।

चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्दै सञ्चालन गरिएका १९ वटा सवारी साधनलाई आवश्यक कानुनी कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। नियमविपरीत सवारी सञ्चालन गर्ने, आवश्यक कागजात नबोक्ने तथा मापदण्ड पूरा नगरेका सवारी साधनमाथि कारबाही गरिएको प्रहरीले स्पष्ट पारेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, लमजुङले आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिँदै ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, सुरक्षित, मापदण्डअनुकूल तथा वातावरणमैत्री सवारी सञ्चालनमा विशेष जोड दिइने जनाएको छ। प्रहरीले सबै चालक तथा सवारीधनीलाई आवश्यक कागजात अद्यावधिक राख्न, सवारीको नियमित मर्मत गर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।




















