प्रहार समाचार । तनहुँ, १५ असार २०८३ सोमबार । तनहुँको व्यास नगरपालिकाभित्र सञ्चालित होटल तथा रेष्टुरेन्टहरूको खाद्य स्वच्छता तथा सेवा गुणस्तर मूल्याङ्कनमा १३ वटा होटल तथा रेष्टुरेन्ट विभिन्न ग्रेडमा वर्गीकृत भएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँले हिंजो गरेको स्तरीकरण मूल्याङ्कनअनुसार दुई होटल ‘अति उत्तम (३ स्टार)’, आठ होटल ‘हरियो १ तारा (मध्यम) ग्रेड–सी’ तथा चार होटल ‘सामान्य ग्रेड–डी’ मा परेका हुन्।

कार्यालयका प्रमुख ज्योति आचार्यका अनुसार ‘अति उत्तम (३ स्टार)’ ग्रेड प्राप्त गर्नेमा होटल सिद्धार्थ एपेक्स हस्पिटालिटी, व्यास–२ रहेको छ। ‘हरियो १ तारा (मध्यम) ग्रेड–सी’ प्राप्त गर्ने होटल तथा रेष्टुरेन्टमा मानुङकोट रिसोर्ट प्रा.लि., दुना टपरी रेष्टुरेन्ट, हाइवे ब्रेक ई.भी. पोइन्ट प्रा.लि., कैनी भिला क्याफे एण्ड रेष्टुरेन्ट, होटल हाइवे किङ्ग, बबिना होटल एण्ड रेष्टुरेन्ट, ए–वान क्याफे एण्ड रेष्ट्रो र पिस प्याराडाइज रिसोर्ट रहेका छन्।




त्यसैगरी ‘सामान्य ग्रेड–डी’ मा ग्रिन हिल रेष्टुरेन्ट, होटल ड्रागन, कन्टेनर कफी हब प्रा.लि. तथा रइस क्याफे एण्ड रेष्ट्रो परेका छन्। अनुगमन तथा स्तरीकरण कार्यक्रममा नेपाल प्रहरी, व्यास नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, होटल व्यवसायी संघ, क्षेत्रीय होटल संघका पदाधिकारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। खाद्य स्वच्छताको न्यूनतम मापदण्ड पालना गरी उपभोक्तालाई सुरक्षित, गुणस्तरीय र विश्वासिलो सेवा उपलब्ध गराउने उद्देश्यले स्तरीकरण अभियानलाई निरन्तरता दिइने प्रमुख आचार्यले जानकारी दिए।





















