हेडलाईनसमाचारबागमती

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ : अरु ठूला नेताको काउनडाउन सुरु

प्रहार समाचार । काठमाडौं, ८ असार २०८३ सोमबार । देशका शक्तिशाली राजनीतिक नेतामाथि कानुनी घेरा कसिँदै गएको संकेतबीच नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि उनलाई सुर्खेतबाट नियन्त्रणमा लिइएको हो। पौडेलको पक्राउसँगै अब अरु ठूला नेताको पनि काउनडाउन सुरु भएको राजनीतिक वृत्तमा चर्चा चुलिएको छ।

 

कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी जयराज सापकोटाका अनुसार विभागको पत्रका आधारमा पौडेललाई पक्राउ गरिएको हो। उनी सुर्खेतस्थित एक होटलबाट साँझ करिब साढे ५ बजे नियन्त्रणमा परेका थिए। प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्न विभागले पत्र पठाएपछि उनलाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाइएको हो। यद्यपि उनीविरुद्धको आरोपको विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन।पक्राउपछि पौडेललाई बाँकेको नेपालगञ्ज लगिएको छ। त्यहाँबाट हवाई मार्गमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको जनाइएको छ।

लामो समयदेखि सत्ता र शक्तिको केन्द्रमा रहेका एक प्रभावशाली नेतामाथि अनुसन्धानको दायरामा पुगेको घटनालाई राजनीतिक क्षेत्रले निकै चासोका साथ हेरेको छ। यस घटनाले उच्च तहका राजनीतिक व्यक्तित्वमाथि समेत कानुनको डन्डा चल्न सक्ने सन्देश दिएको विश्लेषण भइरहेको छ। गृहमन्त्री सुदन गुरुङले केही दिनअघि भ्रष्टाचार, गैरकानुनी सम्पत्ति आर्जन र राज्य स्रोतको दुरुपयोग गर्ने जोसुकै भए पनि नछाडिने चेतावनी दिएका थिए। प्रधानमन्त्री बालेन शाहले पनि कानुनभन्दा माथि कोही नरहेको भन्दै ठूला माछामाथि कारबाहीको संकेत गरेका थिए। विष्णु पौडेलको पक्राउलाई सरकारको त्यही अभियानको सुरुआती कदमका रूपमा हेरिएको छ भने अब अन्य प्रभावशाली राजनीतिक व्यक्तित्व पनि अनुसन्धानको घेरामा पर्न सक्ने चर्चा तीव्र बनेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button