हेडलाईनसमाचारबागमती

‘हाम्रो गाडी एक्सप्रेस वेमा दौडिएको छ, गन्तव्य नपुगेसम्म ब्रेक लाग्दैन’ — प्रधानमन्त्री बालेन शाह

प्रहार समाचार । चितवन, ८ असार २९८३ सोमबार । सरकारको कार्यशैलीमाथि भइरहेका आलोचना र प्रश्नहरूलाई प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चितवनबाटै कडा शैलीमा जवाफ दिएका छन्। सरकारलाई ‘ब्रेक लगाउनुपर्छ’ भन्ने राजनीतिक वृत्तको सुझावप्रति कटाक्ष गर्दै उनले आफ्नो नेतृत्वको यात्रा रोक्ने वा सुस्त बनाउने कुनै मनसाय नभएको स्पष्ट पारेका छन्।

 

रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै शाहले सरकार सञ्चालनलाई ‘एक्सप्रेस वेमा दौडिरहेको गाडी’सँग तुलना गरे। उनले आफूहरू सामान्य राजनीतिक गतिमा नभई तीव्र परिवर्तनको यात्रामा रहेको दाबी गर्दै गन्तव्य हासिल नभएसम्म नरोकिने उद्घोष गरे।“धेरैले सरकार भनेको गाडी हो, एक्सेलेटरसँगै ब्रेक पनि चाहिन्छ भन्नुभएको छ,” शाहले भने, “त्यो चिन्ता लोकल रोडमा हिँड्ने गाडीलाई हुन्छ। हाम्रो गाडी एक्सप्रेस वेमा दौडिएको छ। यो बीच बाटोमा रोकिँदैन, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ।”सम्बोधनको सुरुमै ‘नमस्ते’ गर्दै उनले आफ्नै शैलीमा व्यंग्य मिसाए।

“नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ,” भन्दै मन्तव्य सुरु गरेका शाहले पुराना राजनीतिक शक्तिहरूप्रति अप्रत्यक्ष प्रहार गरे। उनले सानो महत्वाकांक्षा नभई देश बनाउने ठूलो सपना, हुटहुटी र परिवर्तनको तीव्र चाहनाले नयाँ राजनीतिक शक्तिको जन्म भएको बताए। शाहले अहिलेको मुख्य चुनौती सरकार सञ्चालन मात्र नभई नयाँ राजनीतिक शक्तिलाई संस्थागत र दीर्घकालीन बनाउनु रहेको उल्लेख गरे। परिवर्तनको एजेन्डा बोकेर आएका शक्तिहरूलाई कमजोर पार्ने प्रयास भइरहे पनि जनताको विश्वासका कारण आफूहरू पछि नहट्ने उनको भनाइ थियो। उनले रास्वपालाई केवल चुनावी दलका रूपमा नभई वैकल्पिक राजनीतिक आन्दोलनका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए।

देशमा सुशासन, पारदर्शिता र परिणाममुखी कामको अपेक्षा जनताले गरिरहेको भन्दै उनले त्यसलाई पूरा गर्ने जिम्मेवारीबाट पछि नहट्ने बताए।महाधिवेशनको मञ्चमा रास्वपा सभापति रवि लामिछाने सहित शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै शाहले पुरानो राजनीतिक संस्कारलाई चुनौती दिने संकेत मात्रै नगरी, आफूहरूलाई रोक्न खोज्नेहरूलाई प्रत्यक्ष सन्देशसमेत दिएका छन्। चितवनबाट दिएको उनको ‘एक्सप्रेस वे’ टिप्पणीलाई राजनीतिक वृत्तमा सरकारको गति, निर्णय क्षमता र आगामी रणनीतिबारे गरिएको स्पष्ट सन्देशका रूपमा हेरिएको छ। शाहको भनाइले अबको यात्रा सम्झौता र सुस्तताभन्दा परिणाम र गन्तव्य केन्द्रित हुने संकेत गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button