प्रहार समाचार । काठमाडौँ , २२ जेठ २०८३ शुक्रबार । जग्गासम्बन्धी सेवा प्रवाहलाई प्रविधिमैत्री, छिटोछरितो र नागरिकमैत्री बनाउने उद्देश्यसहित नापी विभागले ‘मेरो कित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। अब सेवाग्राहीले विभिन्न जग्गासम्बन्धी सेवा घरमै बसेर अनलाइनमार्फत प्राप्त गर्न सक्ने भएका छन्।काठमाडौंमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो।

विभागका अनुसार एपले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट कम गर्दै डिजिटल माध्यमबाट सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।मोबाइल एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आवेदन दर्ता भएपछि प्रणालीले ओटिपी उपलब्ध गराउनेछ भने सेवाग्राहीले आफ्नो मोबाइल नम्बर र ओटिपी प्रयोग गरी आवेदनको अवस्थाबारे नियमित जानकारी लिन सक्नेछन्।यसैगरी इ–सेवा, खल्ती र कनेक्ट आइपिएसजस्ता डिजिटल माध्यमबाट राजस्व भुक्तानी गर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको विभागले जनाएको छ।

फिल्ड रेखांकन सेवाका लागि आवश्यक शुल्कसमेत अनलाइनबाटै तिर्न सकिने व्यवस्था मिलाइएको छ।विभागका अनुसार एपमार्फत सम्बन्धित नापी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीको सम्पर्क नम्बरसमेत प्राप्त गर्न सकिनेछ। ‘मेरो कित्ता सेवा’ मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध रहेकाले सेवाग्राहीले मोबाइल वा कम्प्युटर दुवै माध्यमबाट सेवा लिन सक्नेछन्।



























