प्रहार समाचार । तनहुँ, ६ बैशाख २०८३ आइतबार । तनहुँको देवघाटधाममा सञ्चालित संस्कृत गुरुकुलहरूमा अध्ययनका लागि विद्यार्थीको आकर्षण ह्वात्तै बढेसँगै भर्ना प्रक्रिया प्रतिस्पर्धात्मक बन्दै गएको छ। सीमित कोटामा धेरै आवेदन परेपछि यहाँका गुरुकुलहरूले प्रवेश परीक्षा र अन्तर्वार्तामार्फत मात्रै विद्यार्थी छनोट गर्न थालेका छन्, जसले गुरुकुल शिक्षाप्रतिको बढ्दो विश्वासलाई प्रष्ट पारेको छ।

देवघाट–५ स्थित श्रीहरिहर सन्यास आश्रमअन्तर्गत सञ्चालित परमानन्द संस्कृत गुरुकुल विद्यापीठले शैक्षिक सत्र २०८३ का लागि ३० जना विद्यार्थी भर्ना खुलाउँदा १८९ जनाले आवेदन दिएका थिए। माग अत्यधिक बढेपछि प्रवेश परीक्षा र अन्तर्वार्ताबाट सीमित विद्यार्थी मात्र छनोट गरिएको छ।

यस्तै, महेश संस्कृत गुरुकुलमा ३२ सिटका लागि २५० भन्दा बढीले परीक्षा दिएका छन् भने वेद वेदाङ्ग संस्कृत विद्यालयले पनि आवश्यकभन्दा धेरै आवेदन परेपछि प्रवेश परीक्षा तय गरेको छ। यी गुरुकुलहरूले प्रत्येक वर्ष कक्षा ६ मा औसत २५ देखि ३५ जनासम्म मात्र नयाँ विद्यार्थी भर्ना लिने गरेका छन्।पछिल्ला वर्षहरूमा संस्कृत शिक्षा र गुरुकुल पद्धतिप्रति अभिभावक तथा विद्यार्थीको रुचि उल्लेख्य रूपमा बढेको शिक्षाकर्मीहरू बताउँछन्। देवघाटका गुरुकुलहरू देशभरि नै ख्याति कमाएका कारण पनि यहाँ अध्ययन गर्न चाहनेको सङ्ख्या बढ्दो छ।

विगतमा संस्कृत अध्ययनका लागि भारतका बनारस र वृन्दावन जाने प्रचलन रहे पनि अहिले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन थालेपछि भारतबाट समेत विद्यार्थी देवघाट आउने क्रम बढेको छ।आवाससहित निःशुल्क शिक्षा, अनुशासित तथा संस्कारयुक्त वातावरण र हिन्दू धर्मप्रतिको बढ्दो चासोले गर्दा अभिभावकहरूले गुरुकुल रोज्ने गरेका छन्। तर सिमित कोटाका कारण धेरै विद्यार्थी भर्नाबाट वञ्चित हुनुपर्ने अवस्था छ।

हाल देवघाटका विभिन्न गुरुकुलहरूमा करिब सात सय बटुक अध्ययनरत छन्, जसले सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका छन्।महेश संस्कृत गुरुकुल र परमानन्द संस्कृत गुरुकुलमा आचार्य (स्नातकोत्तर) तहसम्म तथा वेद वेदाङ्ग संस्कृत विद्यालयमा शास्त्री तहसम्मको पठनपाठन सञ्चालन भइरहेको छ।

राष्ट्रिय परीक्षा बोर्ड र नेपाल संस्कृत विश्वविद्यालयसँग सम्बन्धन लिएर यी गुरुकुलहरूले आधुनिक र प्राचीन शिक्षाको संयोजन गर्दै आएका छन्। यद्यपि, सरकारले न्यून अनुदान मात्र उपलब्ध गराउने गरेको भन्दै सरोकारवालाहरूले संस्कृत शिक्षाप्रति राज्यको ध्यान र सहयोग बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।



























