• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ, ६ बैशाख २०८३ आइतबार । सार्वजनिक शिक्षामा घट्दो विश्वास फर्काउने लक्ष्यसहित लमजुङको राईनास नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकका सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै अध्ययन गराउने निर्णय गरेको छ।

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै अभिभावकमा भरोसा जगाउने उद्देश्यले यस्तो पहल गरिएको हो। नगर कार्यपालिकाको २०८२ चैत २५ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। निर्णयअनुसार जनप्रतिनिधि, नगरपालिका कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीका छोराछोरीलाई निजी विद्यालयभन्दा सामुदायिक विद्यालयमै भर्ना गराउन आग्रह गरिएको छ। यस कदमले सार्वजनिक शिक्षामा सुधार ल्याउन व्यवहारमै उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

नगरपालिकाले २०८२ वैशाख २ गते सार्वजनिक सूचना जारी गर्दै शैक्षिक सत्र २०८३ देखि आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराई नगरको नीति कार्यान्वयनमा सहयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ। नगर शिक्षा अधिकारी पूर्णबहादुर नेपालीद्वारा हस्ताक्षरित सूचनामा सामुदायिक विद्यालय सुदृढीकरणका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरिएको छ।



























