हेडलाईनसमाचारसाहित्यबागमती

‘आमाको आँखा’ लघुकथा सङ्ग्रहभित्र रमाएकी साहित्यकार अधिकारी

• चेतना नहर्की ।काठमाडौं, ६ बैशाख २०८३ आइतबार । व्यक्तिगत भोगाइ, संवेदना र संघर्षका कथाहरूलाई लघुकथामा उतार्दै साहित्यकार शोभा अधिकारी ‘आमाको आँखा’ सङ्ग्रहमार्फत पाठकमाझ प्रस्तुत भएकी छन्। पद्मकन्या क्याम्पसमा हिंजो आयोजित कार्यक्रममा लोकार्पित उक्त कृतिमा लेखक स्वयंको जीवनयात्रा, समाजका विविध पाटा र मानवीय सम्बन्धका सूक्ष्म आयामहरू समेटिएका छन्।

लोकार्पण कार्यक्रममा बोल्दै साहित्यकार तथा नाट्यकर्मी अशेष मल्लले लघुकथामार्फत गहिरो अनुभूति दिन सक्नु ठूलो कुरा भएको उल्लेख गर्दै ‘आमाको आँखा’ले सरल भाषामा गहिरो सन्देश प्रवाह गरेको बताए। सभाध्यक्ष तथा लघुकथा समाज नेपालका अध्यक्ष तुलसीहरि कोइरालाले कृतिमा समकालीन समाजका यथार्थलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको धारणा राखे। वरिष्ठ साहित्यकार ओम श्रेष्ठ ‘रोदन’ले लेखकको निरन्तर साधना र समर्पणले कृतिलाई सशक्त बनाएको बताए ।

कार्यक्रममा पद्मकन्या क्याम्पसका सहायक क्याम्पस प्रमुख बिमला नेपाल, पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहाललगायतले कृतिको महत्वबारे धारणा राखेका थिए। कृतिमाथि समीक्षा प्रस्तुत गर्दै अनुपमा रेग्मी र सुमन घिमिरेले पुस्तकमा समेटिएका कथाहरूले परिवार, समाज र मानवीय सम्बन्धका सूक्ष्म पक्षलाई मार्मिक ढंगले चित्रण गरेको बताए।

कृतिमाथि समीक्षा प्रस्तुत गर्दै अनुपमा रेग्मी र सुमन घिमिरेले पुस्तकले पारिवारिक सम्बन्ध, आमाको माया, सामाजिक यथार्थ र मानवीय संवेदनालाई मार्मिक ढंगले चित्रण गरेको उल्लेख गरे।

कार्यक्रममा बोल्दै लेखक अधिकारीले लामो समयको अनुभूति, भोगाइ र कल्पनाहरूलाई लघुकथामा रूपान्तरण गर्दै कृति तयार पारेको बताइन्। उनले दुर्घटनापछि दाहिने हात प्रयोग गर्न नसक्दा देब्रे हातले समेत कथा लेखेर कृति पूरा गरेको अनुभव सुनाउँदै दृढ इच्छाशक्ति भए असम्भव केही नरहेको उल्लेख गरिन्।

२०५१ सालदेखि लेखनमा सक्रिय अधिकारीका विभिन्न पत्रपत्रिका तथा अनलाइन माध्यममा सात सयभन्दा बढी लेख–रचना प्रकाशित भइसकेका छन्। ‘आमाको आँखा’ उनको पहिलो लघुकथा सङ्ग्रह हो। कार्यक्रममा सहभागीहरूले कृतिले पाठकलाई जीवन, समाज र मानवीय सम्बन्धबारे नयाँ ढंगले सोच्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्। बाबु कार्कीले सहजिकरण गरेको कार्यक्रममा लघुकथा समाज नेपालका सदस्यहरु तथा अन्य साहित्यकार, पत्रकार, विभिन्न पेशागत संघ–संस्थाका प्रतिनिधि र राजनीतिक दलका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button