प्रहार समाचार । काठमाडौँ, ७ वैशाख २०८३ सोमबार । सनातन धर्मावलम्बीहरू आज अक्षय तृतीया पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् । वैशाख शुक्ल तृतीयाका दिन पर्ने यस पर्वमा स्नान, दान, जप र पूजाआजा जस्ता पुण्यकर्मले कहिल्यै नास नहुने फल प्राप्त हुने धार्मिक विश्वासका कारण देशभर उत्साह देखिएको छ ।

परम्पराअनुसार बिहानै उठी घर सरसफाइ गरी स्नानपछि भगवान् विष्णुको विशेष पूजा गरिन्छ । यस अवसरमा जौँको सातु र विभिन्न मसला मिसाएर तयार पारिएको सर्वत दान गर्ने तथा सेवन गर्ने चलन रहेको छ । गर्मीयाममा शरीरलाई शीतलता दिने यी परिकार स्वास्थ्यका हिसाबले पनि लाभदायक मानिन्छन् ।
अक्षय तृतीयाका दिन छाता, लौरो, जुत्ता लगायत सामग्री दान गर्नुका साथै गच्छेअनुसार अन्न, गाई वा सुनसमेत दान गर्ने परम्परा छ । आजकै दिन भगवान् शिव र पार्वतीको विवाह भएको तथा त्रेतायुगको प्रारम्भ भएको विश्वास गरिँदै आएको छ । यसै अवसरमा पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयमा भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको छ ।



























