प्रहार समाचार । तनहुँ, २५ चैत २०८२ बुधबार । द नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) व्यास नगर समन्वय परिषद, दमौलीको चौथो अधिवेशनबाट ईम कुमार मल्लको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ।

सम्पन्न अधिवेशनले मल्लको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा बेल बहादुर दरै, सचिवमा डिल बहादुर आले, कोषाध्यक्षमा श्रवण गुरुङ र सह–सचिवमा निर्मला तामाङ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा होम बहादुर बोटे, खिल बहादुर घर्ती, विष्णु माया गुरुङ, रस्मीला पिया, इन्द्र माया दुरा, तारा माझी, बिजेन्द्र राई र बसन्ती कुमाल रहेका छन्।

नयाँ कार्यसमिति चयनका लागि ले. देब बहादुर गुरुङको संयोजकत्वमा ठाकुर बहादुर दरै र पूर्ण बहादुर थापा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

यसअघि अधिवेशनको उद्घाटन सत्र नगर परिषद्का अध्यक्ष क्याप्टेन सोम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेफिन तनहुँ जिल्ला समन्वय परिषदका अध्यक्ष सोनाम तामाङले आदिवासी जनजातिको अधिकार, पहिचान र एकताको सुदृढीकरण आवश्यक रहेको बताएका थिए। कार्यक्रमको सञ्चालन सचिव अमर थापाले गरेका थिए।
नवनिर्वाचित अध्यक्ष मल्लले आदिवासी जनजातिको हक, हित र पहिचानको संरक्षणका लागि नगरपालिका भित्रका सबै जातजातिलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




























