हेडलाईनसमाचारगण्डकी

‘अरूको युद्ध, हाम्रो पीडा: नेपाल आफैँ उठ्नुपर्ने बेला आएको छ ।’-सांसद न्यौपाने

प्रहार समाचार । काठमाडौँ, २५ चैत २०८२ बुधबार । तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय ऊर्जा तथा जलस्रोत विभाग प्रमुख ई. श्रीराम न्यौपानेले नेपालको वर्तमान आर्थिक र नीतिगत अवस्थामाथि प्रश्न उठाउँदै अब देश आफैँ उठ्ने बेला आएको बताएका छन्।

सामाजिक सञ्जाल मार्फत न्यौपानेले मध्यपूर्वमा भइरहेका युद्धका असर नेपालसम्म आइपुग्ने भन्दै उनले तेलको मूल्यवृद्धि, महँगी र रोजगारी संकट जस्ता समस्या नेपालले भोग्नुपरेको उल्लेख गरे। “तेल अरूको हो, तर महँगी हाम्रो हुन्छ। निर्णय अरूले गर्छन्, पीडा हामीले भोग्नुपर्छ,” उनले भने।


न्यौपानेले नेपालसँग प्रशस्त जलस्रोत हुँदाहुँदै पनि त्यसको समुचित उपयोग हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे। “अरबौं घनमिटर पानी समुद्रमा खेर गइरहेको छ, तर हामी बिजुली किनिरहेका छौँ,” उनले भने।


त्यस्तै, युवाशक्ति विदेशिनु देशको ठूलो विडम्बना भएको उल्लेख गर्दै उनले भने, “लाखौँ युवा विदेशिएका छन्। हामी युवा निर्यात गरेर रोजगारी आयात गरिरहेका छौँ। देश खाली हुँदैछ, रेमिट्यान्समा निर्भरता बढ्दो छ—के यही विकास मोडेल हो?”
मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरू युद्धको जोखिममा परेको उल्लेख गर्दै उनले आवश्यक तयारी गर्न सरकारलाई आग्रह गरे। “यदि युद्ध थप चर्कियो भने हाम्रा युवा स्वदेश फर्किन सक्छन्। के हामी त्यसका लागि तयार छौँ?” उनले प्रश्न गरे।


उनले सरकार स्थिर भएकाले अब नीतिहरू पनि स्थिर, स्पष्ट र दीर्घकालीन हुनुपर्नेमा जोड दिए। कागजमा सीमित योजना नभई कार्यान्वयनमुखी कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ।
फर्किने युवाहरूलाई देशमै रोजगारी र अवसर सिर्जना गर्नुपर्ने बताउँदै उनले योग्य व्यक्तिलाई सही ठाउँमा जिम्मेवारी दिनुपर्ने धारणा राखे। “नेपाललाई बहानाको राष्ट्र होइन, सम्भावनाको राष्ट्र बनाउनुपर्छ,” उनले भने।


न्यौपानेले जलस्रोतलाई उत्पादनमा रूपान्तरण गर्दै ऊर्जा क्षेत्रमा आत्मनिर्भर बन्न र युवालाई देशभित्रै अवसर सिर्जना गर्न अब ढिलाइ गर्न नहुने बताएका छन्। “अब निर्णयको समय हो—पानीलाई शक्तिमा बदल्ने र युवालाई अवसर दिने,” उनले जोड दिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button