हेडलाईनव्याससमाचारगण्डकी

अख्तियार प्रमुखको दादागिरी : पत्रकारलाई भिडियो खिच्न रोक, तनहुँमा तीव्र विरोध

प्रहार समाचार । तनहुँ, २४ चैत २०८२ मंगलबार । भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी बोकेको निकायका प्रमुखबाटै प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको घटना तनहुँमा सार्वजनिक भएको छ। दमौलीस्थित व्यास नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख नारायणप्रसाद रेग्मीले पत्रकारलाई भिडियो खिच्न एक्कासी रोक लगाएपछि तीव्र आलोचना सुरु भएको हो।

आज ‘भ्रष्टाचार विरुद्धको सहकार्य’ नाराका साथ आयोजित सुशासन कार्यशाला गोष्ठीमा सार्वजनिक धारणा राख्ने क्रममा रेग्मीले कार्यक्रमस्थलमै उपस्थित पत्रकारलाई भिडियो नखिच्न निर्देशन दिएका थिए। सार्वजनिक कार्यक्रममै यस्तो व्यवहार देखिएपछि उपस्थित पत्रकार तथा सरोकारवालाहरू चकित परेका थिए।


सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, जिल्ला प्रशासन कार्यालय तनहुँ र सुशासनका लागि नागरिक समाज (ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल आवद्ध संस्था) कास्कीको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा निमन्त्रणा गरिएका सञ्चारकर्मीमाथि गरिएको यस्तो व्यवहारलाई नेपाल पत्रकार महासंघ तनहुँ शाखाले गम्भीर रूपमा लिएको छ।
महासंघले विज्ञप्ति जारी गर्दै सार्वजनिक कार्यक्रममा समाचार सङ्कलनका लागि खटिएका पत्रकारलाई भिडियो खिच्न रोक लगाइनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको ठहर गरेको छ। “अख्तियार जस्तो संवैधानिक र जिम्मेवार निकायका प्रमुखबाटै यस्तो व्यवहार हुनु अत्यन्त निन्दनीय र अस्वीकार्य छ,” विज्ञप्तिमा उल्लेख छ। महासंघले लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र प्रेसको भूमिका कुण्ठित गर्ने कुनै पनि प्रयास सह्य नहुने स्पष्ट पार्दै यस्ता गतिविधि तत्काल बन्द गर्न कडा चेतावनी दिएको छ। साथै आगामी दिनमा प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।


नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष डिपि अधिकारी र सचिव कृष्ण न्यौपानेद्वारा जारी विज्ञप्तिमा घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै यस्ता घटनाको पुनरावृत्ति भए थप कडा कदम चालिने संकेतसमेत गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button