हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकीस्वास्थ्य

आज पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको १६ औँ स्मृति दिवस : बिरामीको शय्यामै कोइरालाको सम्झना

प्रहार समाचार । तनहुँ, ७ चैत २०८२ शनिबार । नेपाली राजनीतिका शिखर पुरुष तथा पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको १६ औँ स्मृति दिवस जिपी कोइराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्रले यसपटक फरक शैलीमा मनाएको छ। औपचारिक कार्यक्रम र भाषणभन्दा सेवा नै प्रमुख बनाउँदै केन्द्रले अस्पतालमा भर्ना भएका बिरामीको शय्यासम्म पुगेर फलफूल वितरण गर्दै मानवीय सेवामार्फत कोइरालालाई सम्झिएको हो ।

स्मृति दिवसलाई सेवामूलक अभियानका रूपमा अघि बढाएको केन्द्रले बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उनीहरूको मनोबल बढाउने प्रयास गरेको जनाएको छ।

बिरामी र आफन्तहरूले यस्तो कार्यले वास्तविक सम्मानको अनुभूति दिलाएको प्रतिक्रिया दिएका छन्।

सोही अवसरमा २०८३ सालको क्यालेन्डर पनि विमोचन गरिएको छ। कार्यक्रममा वक्ताहरूले स्व. कोइरालाको लोकतन्त्र स्थापनामा खेलेको भूमिका, कठिन परिस्थितिमा देखाएको नेतृत्व क्षमता र राष्ट्रप्रतिको समर्पणबारे चर्चा गरेका थिए। उनीहरूले कोइरालाको जीवनबाट अहिलेको पुस्ताले अनुशासन, संघर्ष र प्रतिबद्धता सिक्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा मन्तव्य राख्दै सञ्चालक समितिका सदस्य त्रिलोचन लम्सालले कोइरालाको जीवन प्रेरणादायी भएको उल्लेख गर्दै उनका आदर्श र विचारलाई व्यवहारमा उतार्नुपर्ने बताए।

कार्यक्रमको अध्यक्षता सदस्य राम भण्डारीले गरेका थिए भने अस्पतालका निमित्त प्रमुख डा. रामकुमार श्रेष्ठसहित स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो। केन्द्रले यस्ता सामाजिक उत्तरदायित्वसँग जोडिएका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button