प्रहार समाचार । काठमाडौँ,६ चैत २०८२ शुक्रबार। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले अपेक्षित सफलता हासिल गर्न नसक्नुका कारणहरू खुलाउँदै प्रारम्भिक समीक्षा प्रतिवेदन केन्द्रीय समितिमा पेस गरेका छन्। सानेपामा आज बसेको केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनमा उनले उम्मेदवार चयन प्रक्रियादेखि लिएर आन्तरिक असहयोगसम्मका विषयहरूलाई मुख्य कारणका रूपमा औंल्याएका छन्।

उम्मेदवार नबनेका वा नबनाइएका केही नेताहरूले चुनावी अभियानमा गम्भीर असहयोग गरेको उल्लेख गर्दै उनले त्यस्ता गतिविधिले सम्भावित जितसमेत प्रभावित भएको बताएका छन्। शर्माले प्रतिवेदनमा उम्मेदवार छनोट गर्दा सम्भव भएसम्म सबै पक्षलाई समेट्ने प्रयास गरिए पनि त्यसलाई प्रभावकारी रूपमा मतदातामाझ स्थापित गर्न नसकिएको स्वीकार गरेका छन्। उनका अनुसार संयमित र परिपक्व ढंगले उम्मेदवार चयन गरिएको सन्देश फैलिन नसक्नु पनि हारको एक कारण बनेको हो।

यसैबीच उनले पार्टी सभापति गगन थापाले दिएको राजीनामा अस्वीकार गर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्। प्रतिवेदनमा उनले निर्वाचनको परिणामलाई केवल एक पक्षको जितभन्दा बढी कांग्रेसको समग्र पराजयका रूपमा व्याख्या गरेका छन्। ‘हामीले समयमै आफूलाई सुधार्न, बदल्न र मतदातासँग प्रभावकारी रूपमा संवाद गर्न सकेको भए यस्तो परिणाम आउने थिएन,’ उनले उल्लेख गरेका छन्। उनले थप स्पष्ट पारेका छन् कि यो पराजयको जिम्मेवारी कुनै एक नेता वा कार्यसमितिमा मात्र सीमित नभई सम्पूर्ण पार्टीले लिनुपर्नेछ।उल्लेखनीय छ, फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले ३८ सिट जितेको थियो।



























