प्रहार समाचार । ५ चैत २०८२ बुधबार । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा पत्र बुझाएका हुन्।कांग्रेसका एक पदाधिकारीका अनुसार सभापति थापाले बुझाएको राजीनामाबारे भोलि बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुने छ। उक्त बैठकले राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ।

यद्यपि, हालसम्म राजीनामा पत्र सार्वजनिक गरिएको छैन। कांग्रेसले चुनावी समीक्षाका लागि शुक्रबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बोलाएको छ। प्रतिनिधिसभा निर्वाचनमा भएको पराजयको जिम्मेवारी लिँदै सभापति थापाले पद त्याग गरेका हुन्। फागुन २१ गते सम्पन्न निर्वाचनमा उनी सर्लाही–४ बाट पराजित भएका थिए भने सभापतिसहित चुनाव लडेका सबै पदाधिकारी हार व्यहोर्न बाध्य भएका थिए।विशेष महाधिवेशनपछि छोटो अवधिमै निर्वाचनमा सहभागी भएको कांग्रेसभित्र यस विषयलाई लिएर विवाद पनि देखिएको थियो।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष उक्त महाधिवेशनमा सहभागी नभई सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ, जुन हाल विचाराधीन छ। निर्वाचनमा अधिकांश उम्मेदवार पराजित भएपछि सभापति थापामाथि आलोचना बढ्दै गएको थियो र राजीनामाको माग उठिरहेको थियो। यसअघि नै उनले उपसभापति शर्मासँगको भेटमा राजीनामा दिने संकेत गरेका थिए।



























