प्रहार समाचार । तनहुँ, ४ चैत २०८२ बुधबार । प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप बदलिँदै जाँदा तनहुँका पत्रकारहरूलाई एआई र मोबाइल पत्रकारितामा दक्ष बनाउने उद्देश्यले दुईदिने विशेष तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा तनहुँको आयोजना तथा प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश को सहयोगमा २०८२ आज र भोलि तनहुँको बन्दीपुर–याम्पास्थित मस्र्याङ्दी रिसोर्टमा तालिम सञ्चालन गरिएको हो ।

तालिम उद्घाटन सत्रमा बोल्दै भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले सूचना प्रविधिको प्रयोग बिना आधुनिक पत्रकारिता सम्भव नरहेको उल्लेख गर्दै स्थानीय तहदेखि नै डिजिटल क्षमतामा लगानी बढाउनुपर्नेमा जोड दिए । उनले एआईको सही प्रयोगले समाचारलाई छिटो, तथ्यपरक र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।

प्रेस रजिष्टार कार्यालय गण्डकी प्रदेशकी रजिष्टार बिमला भण्डारीले पत्रकारिता क्षेत्रमा प्रविधिको जिम्मेवार प्रयोग आवश्यक रहेको बताउँदै एआईको प्रयोगसँगै विश्वसनीयता जोगाउनु सबैभन्दा ठूलो चुनौती भएको धारणा राखिन् ।

मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेशका सचिव कृष्णप्रसाद लम्सालले एआईले सूचना उत्पादन र वितरणमा क्रान्ति ल्याएको उल्लेख गर्दै पत्रकारहरूले प्रविधिलाई अवसरका रूपमा लिनुपर्ने बताए । उनले सत्य, सन्तुलन र नैतिकता कायम राख्दै डिजिटल उपकरणको अधिकतम उपयोग गर्न सुझाव दिए ।

कार्यक्रममा शोनी शर्मा सहित पत्रकार महासंघका पूर्व अध्यक्षहरू ओमकार आचार्य, डम्बर अधिकारी, प्रेम प्रसाद पौडेल र उज्वल पौडेल को समेत उपस्थिति रहेको थियो ।

शाखा अध्यक्ष डिपी अधिकारी को अध्यक्षतामा भएको तालिममा एआई र मोबाइल पत्रकारिताको प्रयोग, प्रभाव र सम्भावनाबारे जीवन भण्डारीले प्रशिक्षण दिएका थिए । उनी अनलाइन टिभी पत्रकार संघका अध्यक्ष तथा नेपाली रेडियो नेटवर्कका समाचार निर्देशकसमेत हुन् । तालिममा सहभागी पत्रकारहरूले मोबाइलबाटै छिटो र गुणस्तरीय सामग्री उत्पादन गर्ने सीप सिकेका छन् ।


डिजिटल युगमा पत्रकारिताको नयाँ दिशातर्फ उन्मुख हुँदै यस्तो तालिमले स्थानीय सञ्चारकर्मीलाई प्रतिस्पर्धी र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास आयोजकको छ । सहभागीहरूले समेत यस्ता व्यावहारिक तालिमले आफ्नो कामलाई थप व्यावसायिक र आधुनिक बनाउने प्रतिक्रिया दिएका छन् ।





























