हेडलाईनसमाचारगण्डकीविजनेसशुक्लागण्डकीमनोरञ्जन

स्थानीय उत्पादनदेखि युवाको प्रतिभासम्म: शुक्लागण्डकी महोत्सवले भित्र्याउँदै आत्मनिर्भर अर्थतन्त्रको सन्देश

प्रहार समाचार । तनहुँ, ४ चैत २०८२ बुधबार । आन्तरिक व्यापार सुदृढ गर्ने, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र युवाको ऊर्जा सही दिशामा प्रयोग गर्ने उद्देश्यसहित पाँचौं शुक्लागण्डकी महोत्सव–२०८२ चैत्र ६ देखि १७ गतेसम्म बेलचौतारास्थित भानुभक्त क्याम्पस परिसरमा सञ्चालन हुने भएको छ ।

‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन, कला, सिप र संस्कृतिको संरक्षण’ भन्ने मूल नारालाई व्यवहारमै उतार्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको हो।
यस महोत्सवले ‘किन्ने बानी बदलौं, स्थानीय रोजौं’ भन्ने सन्देशलाई प्राथमिकतामा राखेको छ। कृषि उपज, घरेलु तथा साना उद्योगका उत्पादन, हस्तकला र परम्परागत सिपलाई बजार दिलाउँदै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ। पछिल्लो समय आयातमुखी उपभोगले थिचिएको अवस्थामा यस्तो महोत्सवले स्वदेशी उत्पादनप्रतिको विश्वास जगाउने र स्थानीय व्यवसायीलाई उकास्ने काम गर्ने विश्वास आयोजकको छ।


महोत्सवमा भलिबल प्रतियोगिता, विद्यालय स्तरीय नृत्य, रत्यौली, लाइभ कन्सर्ट, खुल्ला टिकटक/रिल्स प्रतियोगिता लगायत कार्यक्रमले युवा पुस्तालाई आकर्षित गर्नेछ भने विविध सांस्कृतिक प्रस्तुतीले मौलिक पहिचान जोगाउने काम गर्नेछ। यसले मनोरञ्जनसँगै सिर्जनशीलता, उद्यमशीलता र सामाजिक एकतालाई पनि मजबुत बनाउने सन्देश दिनेछ।


आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्र राम श्रेष्ठले महोत्सव केवल मेलामेला नभई आर्थिक रुपान्तरणको अभियान भएको बताए। उनले “स्थानीय उत्पादनको प्रयोग बढाउनु नै आर्थिक आत्मनिर्भरता तर्फको पहिलो पाइला हो” भन्दै किसान, उद्यमी र उपभोक्ताबीच सीधा सम्बन्ध निर्माण गर्न महोत्सव प्रभावकारी हुनेमा जोड दिए।


संरक्षक शुक्लागण्डकी नगरपालिका र सह–आयोजक महिला उद्यमी विकास समिति तथा वडा व्यवस्थापन समितिहरूको सक्रियतामा आयोजना हुन लागेको महोत्सवलाई प्रचार–प्रसार संयोजक बाल कृष्ण बि.क.ले जनताको उत्सवका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए। उनले “डिजिटल प्लेटफर्मदेखि परम्परागत संस्कृतिसम्म जोडेर नयाँ र पुरानाको संगम बनाउने प्रयास गरेका छौं” भन्दै स्थानीय सहभागिता नै सफलताको आधार हुने उल्लेख गरे।


समग्रमा, शुक्लागण्डकी महोत्सवले मनोरञ्जन मात्र होइन, ‘आफ्नो उत्पादन, आफ्नै बजार’ भन्ने सोचलाई व्यवहारमा उतार्दै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने, रोजगारी सिर्जना गर्ने र समुदायलाई आत्मनिर्भरतातर्फ डो-याउने सशक्त सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button