प्रहार समाचार । काठमाडौँ, १ चैत २०८२ आइतबार । प्यालेस्टिनी सशस्त्र समूह हमास ले इरान लाई छिमेकी देशहरूलाई निशाना नबनाउन आग्रह गरेको छ। शनिबार जारी वक्तव्यमा हमासले क्षेत्रीय तनाव थप नबढाउन यस्तो अपिल गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स ले जनाएको छ।वक्तव्यमा हमासले “इरानका दाजुभाइहरूलाई छिमेकी देशहरूलाई निशाना नबनाउन अनुरोध छ” भनेको छ।

साथै, इसराइल र अमेरिका बाट भएका आक्रमणको जवाफ दिने अधिकार भने इरानलाई रहेको हमासले बताएको छ। हमासले सबै देश तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई तत्काल युद्ध रोक्न पनि आह्वान गरेको छ। हमासले पहिलोपटक सार्वजनिक रूपमा इरानको नीतिबारे टिप्पणी गरेको हो। यसअघि भने उसले युद्धका क्रममा इरानसँग ऐक्यबद्धता जनाउँदै आएको थियो, तर इसराइलमाथि आक्रमण गर्ने धम्की भने दिएको छैन।इरान समर्थित हिजबुल्लाह ले लेबनन बाट इसराइलमा आक्रमण गर्दै आएको छ।

त्यस्तै हुथी आन्दोलन ले पनि इरानप्रति बलियो समर्थन जनाएको छ। इरानले लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी तथा इराकका विभिन्न समूहलाई सहयोग गर्दै इसराइलविरुद्ध मोर्चाबन्दी गर्दै आएको छ। यो गठबन्धनलाई ‘एक्सिस अफ रेसिस्टेन्स’ भनेर चिनिन्छ।सन् २०२३ को हमास–इसराइल आक्रमण पछि सुरु भएको युद्धका कारण गाजामा लामो समय हिंसा चल्यो। गत वर्षको अक्टोबरमा युद्धविराम भए पनि बेला–बेलामा झडप जारी छन्। पछिल्लो समय इरानसँगको तनाव बढेसँगै गाजामाथि इसराइली आक्रमण फेरि बढ्न थालेको बताइएको छ।



























