प्रहार समाचार । काठमाडौं, २६ फागुन २०८२ मंगलबार । यहि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपालको संसदीय इतिहासमा नयाँ अध्याय थपेको छ। करिब ६७ वर्षपछि कुनै एक दलले झण्डै दुईतिहाइ बहुमत हासिल गर्दै संसदमा ऐतिहासिक परिणाम ल्याएको हो। यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले व्यापक जनसमर्थन पाउँदै प्रतिनिधिसभामा झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको छ।

नेपालको संसदीय इतिहासमा यसअघि २०१५ सालको आम निर्वाचनमा मात्र यस्तो उपलब्धि हासिल भएको थियो। त्यसबेला बीपी कोइराला को नेतृत्वमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गर्दै सरकार गठन गरेको थियो। त्यसयता लामो समयसम्म कुनै पनि दलले संसदमा यस्तो बलियो बहुमत ल्याउन सकेको थिएन।

तर यसपटक भने पार्टी सभापति रबि लामिछाने र पार्टीका बरिष्ठ नेता बलेन शाहको लोकप्रियता र उनको नेतृत्वमा चलेको राजनीतिक लहरले चुनावी परिणाममा ठूलो प्रभाव पारेको विश्लेषण गरिएको छ। देशभर देखिएको “बालेन लहर” का कारण राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्याशित रूपमा ठूलो जनमत हासिल गरेको हो।

यस ऐतिहासिक जितसँगै रास्वपा अहिले नयाँ सरकार गठनको तयारीमा जुटेको छ। पार्टी नेतृत्वले सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक सुधार र प्रशासनिक प्रणालीमा व्यापक परिवर्तन गर्ने एजेन्डालाई प्राथमिकतामा राखेर काम गर्ने संकेत दिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो परिणामले नेपालमा पुराना राजनीतिक शक्तिहरूको प्रभाव क्रमशः कमजोर हुँदै गएको र नयाँ राजनीतिक शक्तिप्रति जनताको भरोसा बढ्दै गएको देखाएको छ। अब झण्डै दुईतिहाइ बहुमतसहित बन्ने नयाँ सरकारले जनताको अपेक्षा अनुसार काम गर्न सक्ने कि नसक्ने भन्ने विषय नै सबैभन्दा ठूलो परीक्षा हुने बताइन्छ।

























