प्रहार समाचार । काठमाडौं, २६ फागुन २०८२ मंगलबार । आम निर्वाचनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको बधाई सन्देशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा हेरिएका संसद बलेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत जवाफ दिएका छन्। मोदीले अंग्रेजी भाषामा शुभकामना व्यक्त गरेपछि बालेनले नेपाली भाषामै धन्यवाद व्यक्त गर्दै प्रतिक्रिया दिएका हुन् ।

बालेनले शुभकामनाका लागि मोदीप्रति आभार व्यक्त गर्दै नेपाल र भारतबीच रहेको ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ बनाउँदै अघि बढाउने विश्वास व्यक्त गरेका छन्। उनले दुई देशबीच सहकार्यलाई थप परिणाममुखी बनाउने प्रतिबद्धता पनि जनाएका छन्।
यसै क्रममा बालेनले लगातार दोस्रो पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार र भारतीय जनतालाई पनि हार्दिक बधाई दिएका छन्।


यसअघि मोदीले सामाजिक सञ्जाल फेसबुक र एक्समार्फत रास्वपा सभापति Rabi Lamichhane र बालेनलाई फोन गरेर आम निर्वाचनमा विजय हासिल गरेकोमा बधाई दिएको जानकारी दिएका थिए। रवि लामिछानेले हिजो राति नै एक्समार्फत जवाफ दिएका थिए भने बालेनले आज फेसबुकमार्फत प्रतिक्रिया दिएका हुन्।

नयाँ राजनीतिक समीकरण बनेसँगै नेपाल–भारत सम्बन्धलाई कसरी अघि बढाइन्छ भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ। बालेनको सार्वजनिक सन्देशलाई दुई देशबीच सहकार्यलाई सकारात्मक दिशामा लैजाने संकेतका रूपमा हेरिएको छ।

























