प्रहार समाचार । काठमाडौं, २६ फागुन २०८२ मङ्गलबार । यहि फागुन २१ गते देश भर एकै दिन भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रत्यक्षतर्फको अन्तिम नतिजासँगै संसदको नयाँ राजनीतिक चित्र स्पष्ट हुन थालेको छ। प्राप्त परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ एक्लै १ सय २५ सिट जित्दै संसदमा सबैभन्दा ठूलो र बलियो शक्तिका रूपमा उदाएको छ।

प्रत्यक्षतर्फको नतिजा अनुसार नेपाली काँग्रेसले १८ सिट, एमालेले ९ सिट, नेपाली कम्युनिष्ट पार्टीले ८ सिट, श्रम संस्कृति पार्टी ले ३ सिट, राप्रपाले १ सिट र स्वतन्त्र उम्मेदवारले १ सिट जितेका छन्। यसरी प्रत्यक्षतर्फ कुल १६५ सिटको परिणाम सार्वजनिक भइसकेको छ।


यसैबीच समानुपातिकतर्फ हालसम्मको मत गणनाको आधारमा सिट बाँडफाँटको अनुमान पनि सार्वजनिक भएको छ। थ्रेसहोल्ड कटाउने दलहरूले पाएको मतलाई आधार मान्दा ११० समानुपातिक सिटमध्ये रास्वपा ले ५२.४३ प्रतिशत मतसहित करिब ५८ सिट पाउने देखिएको छ।

नेपाली काँग्रेस ले १९, एमाले ले १७, नेपाली कम्युनिष्ट पार्टी ले ८, श्रम संस्कृति पार्टी ले ४ र राप्रपा ले ४ सिट पाउने अनुमान गरिएको छ। यस हिसाबले प्रत्यक्ष र समानुपातिक दुवै जोड्दा प्रतिनिधिसभाको कुल २७५ सिटमध्ये रास्वपा को सिट संख्या १८३ पुग्ने देखिएको छ, जुन दुई तिहाइ बहुमत नजिकको संख्या हो। त्यस्तै नेपाली काँग्रेस ३७, एमाले २६, नेपाली कम्युनिष्ट पार्टी १६, श्रम संस्कृति पार्टी ७, राप्रपा ५ र एक स्वतन्त्र सांसद रहने सम्भावना देखिएको छ।

यदि यो अनुमानित परिणाम कायम रह्यो भने आगामी सरकार गठनमा रास्वपाको स्पष्ट वर्चस्व रहनेछ भने संसदमा नयाँ शक्ति सन्तुलन पनि देखिनेछ। राजनीतिक विश्लेषकहरूका अनुसार यो परिणामले नेपाली राजनीतिमा ठूलो परिवर्तनको संकेत दिएको छ।

























