प्रहार समाचार । धादिङ, ११ फागुन २०८२ सोमबार । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा सोमबार राति भएको ठूलो बस दुर्घटनामा ज्यान गुमाएका १९ जनामध्ये सबैको सनाखत पूरा भएको छ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस राति करिब १:३० बजे अनियन्त्रित भई करिब २०० मिटर तल त्रिशूली नदी किनारमा खसेपछि घटनास्थलमै १९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रारम्भमा ९ जनाको मात्र पहिचान खुलेकोमा बाँकी १० जनाको पनि आफन्तमार्फत सनाखत गरिएको हो। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार मृतकमध्ये कास्कीका बिबेक बस्तोला (अं.४०) पोखरा–३०, अञ्जली क्षेत्री (२१) पोखरा–१४ चाउथे, रोहित नेपाली (२१) माछापुच्छ्रे–३ र सुजित नेपाली (२६) पोखरा–१९ रहेका छन्। तनहुँका ओम कुमार मल्ल (अं.४०) व्यास–४, विष्णु माया ढकाल (अं.५५) शुक्लागण्डकी–७ मालेबगर, हरि प्रसाद सिग्देल (अं.४५/४६) भिमाद–६, रुद्र प्रसाद ढकाल (६३) शुक्लागण्डकी–७ र अर्चना पौडेल (२०) शुक्लागण्डकी–२ रहेका छन्।
त्यस्तै स्याङ्जाका चन्द्रबहादुर कुँवर (६३) वालिङ–१४ घर भई हाल काठमाडौं नागार्जुन–६ बस्दै आएका र धनश्याम सुवेदी (४५) पुतलीबजार–६ रहेका छन्। काठमाडौंका लोप्साङ गोले (अं.४२) काठमाडौं महानगरपालिका–६ बौद्ध टुसाल र अनिशा महर्जन (३३) काठमाडौं–३२ बुद्धनगर, धादिङका इन्जिनियर ठकुरी (अं.३०) साबिक सल्यानकोट–८ हाल त्रिपुरासुन्दरी–४, पाल्पाका नविन्द्र श्रेष्ठ (अं.५५) तानसेन–२ तथा मोरङकी हिरा चौधरी (२७) उर्लाबारी–१को पनि मृत्यु भएको पुष्टि भएको छ।
मृतकमध्ये बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथन (२४), भारतीय नागरिक मनिष सुक्ला (३२) र चिनियाँ नागरिक झाङ चुनचुन (४०) समेत रहेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले सबै मृतकको पहिचान भइसकेको जानकारी दिँदै दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको बताए।

घटनापछि उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालित भएका थिए। घटनाले पृथ्वी लोकमार्गको सुरक्षा अवस्था र लामो दूरीका बस यात्राको जोखिमबारे पुनः गम्भीर प्रश्न खडा गरेको छ।



























