हेडलाईनसमाचारगण्डकी

कम्प्युटर बिग्रँदा लमजुङमा राहदानी सेवा छ दिनदेखि अलपत्र

• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुङ, ७ फागुन २०८२ बिहीबार । जिल्ला प्रशासन कार्यालय लमजुङमा प्रयोग हुँदै आएको विशेष कम्प्युटर बिग्रिएपछि विगत छ दिनदेखि राहदानी सेवा पूर्ण रूपमा ठप्प बनेको छ। राहदानी विवरण प्रविष्ट (इनरोलमेन्ट) गर्ने प्रणाली नै नचल्दा सेवाग्राहीहरू मर्कामा परेका छन्। टाढा–टाढाबाट राहदानी बनाउन आएका नागरिकहरू सेवा नपाई फर्किन बाध्य भएका छन्।

जिल्ला प्रशासन कार्यालय लमजुङले माघ २९ गते नै सूचना जारी गर्दै प्राविधिक समस्या देखिएकाले राहदानी आवेदन सङ्कलन र वितरण कार्य स्थगित गरिएको जनाएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमका अनुसार बिग्रिएको कम्प्युटर मर्मतका लागि राहदानी विभाग काठमाडौं पठाइएको छ, तर हालसम्म बनेर फर्किएको छैन। भोलि वा पर्सिसम्म मर्मत भएर आएमा शुक्रबारदेखि सेवा सुचारु गर्ने लक्ष्य राखिएको उनले बताए।


प्रशासनका अनुसार राहदानी सेवामा विभागबाटै अनुमति प्राप्त, सुरक्षित सफ्टवेयर जडान भएका विशेष कम्प्युटर मात्र प्रयोग गर्नुपर्ने कानुनी र प्राविधिक बाध्यता छ। सुरक्षा र गोपनीयताका कारण साधारण कम्प्युटरबाट सेवा दिन नमिल्ने भएकाले विभागकै उपकरण कुर्नु परेको हो। कम्प्युटर मर्मत भई आएलगत्तै सार्वजनिक सूचना निकालेर सेवा पुनः सुरु गरिने प्रशासनले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button