प्रहार समाचार । सर्लाही, २ फागुन २०८२ शनिबार । सर्लाहीमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेताहरूले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा सामूहिक प्रवेश गरेका छन्। जसपा नेपालका वरिष्ठ उपाध्यक्ष केदारनन्दन चौधरी, नेता मनिष मिश्र र केदारसिंह ठटौलासहितका नेता–कार्यकर्ता कांग्रेसमा समाहित भएका हुन्।

कांग्रेसको चुनावी अभियानका क्रममा सर्लाही पुगेका कांग्रेस सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले नवप्रवेशी नेताहरूलाई स्वागत गर्दै लोकतान्त्रिक मूल्य, समावेशी विकास र जनताको भरोसाको राजनीति कांग्रेसको पहिचान भएको बताए। उनले कांग्रेस अब सर्लाहीमा मात्र होइन, मुलुकभर परिवर्तनको भरोसायोग्य शक्ति बनेर अगाडि बढिरहेको दाबी गरे।

थापाको चुनावी अभियानसँगै सर्लाहीमा अन्य दल परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ। स्थानीयस्तरमा कांग्रेसप्रति बढ्दो आकर्षणले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ भने, नवप्रवेशी नेताहरूले कांग्रेसमार्फत जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। यस घटनालाई सर्लाहीको चुनावी समीकरण बदल्ने महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।



























