हेडलाईनसमाचारप्रदेश

बारा जिल्लामा भयो यस्तो दुःखद घटना : आमा-छोराको निर्मम हत्या, परिवारका अन्य सदस्य गम्भीर घाइते

प्रहार समाचार । बारा, १४ माघ २०८२ बुधबार । बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरीया डिहमा बुधबार बिहान एकै परिवारमाथि भएको आक्रमणमा आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।

४६ वर्षीया सुमित्रा देवी महतो मण्डल र उनका २७ वर्षीय छोरा रामेश्वर महतो मण्डलको घटनास्थलमै मृत्यु भएको हो। अचानक भएको आक्रमणले गाउँमा त्रासको वातावरण सिर्जना भएको छ।
घटनामा सुमित्राका श्रीमान् जगरूप महतो मण्डल, २० वर्षीया छोरी रीना कुमारी र बुहारी मनिता महतो घाइते भएका छन्। उनीहरूको अवस्था गम्भीर रहेको र परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

एकै परिवारका पाँच जनामाथि भएको आक्रमणको कारण खुल्न नसक्दा घटनालाई लिएर विभिन्न आशंका उत्पन्न भएका छन्।
घटनापछि घटनास्थल वरिपरि बाक्लो प्रहरी परिचालन गरिएको छ भने तालिम प्राप्त कुकुरको सहयोगमा खोजतलास तथा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। हत्या कसले र किन गरेको हो भन्ने विषयमा प्रहरीले सबै सम्भावित कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button