प्रहार समाचार । तनहुँ, २४ पुस २०८२ बिहीबार । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तनहुँमा म्यादी प्रहरी भर्ना खुला गरिएको छ। निर्वाचनलाई सुरक्षित, शान्तिपूर्ण र व्यवस्थित बनाउन जिल्लाका लागि १ हजार ७ सय ५२ जनाको कोटा तोकिएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार इच्छुक नेपाली नागरिकले पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन्। आवेदन जिल्ला प्रहरी कार्यालय तनहुँ तथा सशस्त्र प्रहरी बल नेपाल नं. २३ गण हेडक्वाटर मनकामना–भानुमा बुझाउन सकिनेछ। भर्ना प्रक्रिया ‘नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२’ अनुसार सञ्चालन हुनेछ ।
भर्नामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट अवकाश प्राप्त कर्मचारी, अघिल्ला निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरिसकेका अनुभवी व्यक्ति, सुरक्षा निकायको छनोट प्रक्रियामा सहभागी भइसकेका तथा भारतीय वा बेलायती सेनामा सेवा गरी फर्किएका व्यक्तिलाई प्राथमिकता दिइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
म्यादी प्रहरी पुरुषको न्यूनतम उचाइ ५ फिट २ इञ्च र महिलाको ४ फिट १० इञ्च तोकिएको छ भने महिला आवेदक गर्भवती नभएको हुनुपर्ने प्रावधान छ। दरखास्त दिने उम्मेदवारको छनोट माघ ९ गतेभित्र सम्पन्न गरी माघ १५ गतेदेखि तालिम सुरु गरिनेछ। सरकारले यस पटक देशभर १ लाख ३३ हजार ९ सय ८० जना म्यादी प्रहरी भर्ना गर्ने लक्ष्य लिएको छ ।
























