प्रहार समाचार । तनहुँ, ८ पुस २०८२ मंगलबार । व्यास नगरपालिकाले शहिद दिवसको अवसरमा अल्ट्राम्याराथन प्रतियोगिता आयोजना गर्ने, बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्ने र नगरस्तरीय वन ऐन संशोधनको प्रक्रिया अघि बढाउने लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा हिजो सम्पन्न नगर कार्यपालिकाको २२८औँ बैठकले नगर विकास, स्वास्थ्य, खेलकुद, आर्थिक पारदर्शिता र सामाजिक उत्तरदायित्वसँग सम्बन्धित बहुआयामिक निर्णयहरू गरेको हो ।
बैठकमा नगर उपप्रमुख ईन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, सबै वडाध्यक्ष, कार्यपालिका सदस्य तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैठकले आगामी माघ १६ गते शहिद दिवसका दिन व्यास–५ मानुङ्गकोटदेखि वडा नं ८ पुलिमराङसम्म अल्ट्राम्याराथन खुला दौड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिताको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सम्बन्धित वडाध्यक्षहरूलाई समेटेर व्यास नगर खेलकुद समितिलाई दिइएको छ ।
त्यसैगरी, संघ, गण्डकी प्रदेश तथा नगरपालिकाबाट जारी वन ऐन तथा नियमावलीबारे डिभिजन वन कार्यालय तनहुँसँग गहन अन्तरक्रिया गर्दै नगरस्तरीय वन ऐन संशोधन प्रस्ताव तयार गर्न विधायन समितिलाई जिम्मेवारी तोकिएको छ । बैठकमा आर्थिक पारदर्शितालाई जोड दिँदै चालु आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित १ अर्ब ८१ करोड ७६ लाख १९ हजारको बजेटमध्ये मार्ग मसान्तसम्म ३६.३४ प्रतिशत आम्दानी प्राप्त भई २१.७१ प्रतिशत खर्च भएको विवरण सार्वजनिक गरिएको छ । साथै फोहर व्यवस्थापनबाट पछिल्लो पाँच महिनामा १० लाख ५९ हजार ७ सय ४ रुपैयाँ आम्दानी भएको जानकारी पनि सार्वजनिक गरिएको छ ।
स्वास्थ्य क्षेत्रतर्फ आगामी पुस १२ गते शनिबार व्यास नगरपालिका वडा नं ८ को वडा कार्यालयमा चितवन मेडिकल कलेज भरतपुर र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरिएको छ ।
बैठकले व्यास नगरपालिकाको आर्थिक ऐन २०७४ लाई व्यवस्थापन गर्ने उद्देश्यले व्यास नगर आर्थिक विधेयक २०८२ तथा ज्येष्ठ नागरिक स्वास्थ्य तथा पोषण कार्यक्रम कार्यान्वयन निर्देशिका २०८२ संशोधनसहित पारित गरी आगामी नगरसभामा पेश गर्ने निर्णय पनि गरेको छ । यसैबीच बैठकले व्यास नगरपालिका लेखा समिति संयोजक गौकुमारी न्यौपानेका पति तथा सामाजिक व्यक्तित्व रामचन्द्र न्यौपानेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । नगर कार्यपालिकाका यी निर्णयहरूले व्यास नगरपालिकामा स्वास्थ्य, खेलकुद, वातावरणीय व्यवस्थापन र आर्थिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै अघि बढ्ने संकेत देखिएको छ । छ



























