प्रहार समाचार । तनहुँ, ७ पुस २०८२ सोमबार । जिल्ला प्रहरी कार्यालय तनहुँले फरार थुनुवा/कैदी र अदालतबाट सजाय तोकिएर पनि लामो समयदेखि फरार रहेका प्रतिबादीविरुद्ध कडा कारबाही अघि बढाएको छ ।

प्रहरीका अनुसार हिंजो र आज तनहुँ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जेन्जी आन्दोलनको क्रममा गत भदौ २४ गते कारागार कार्यालय तनहुँबाट फरार भएका ५ जना थुनुवा/कैदीलाई पक्राउ गरी पुनः कारागार कार्यालय तनहुँ बुझाएको हो
त्यसैगरी, विभिन्न आपराधिक मुद्दामा संलग्न रही स तनहुँ जिल्ला अदालतबाट फैसला भइसकेका तर फरार रहेका ७ जना प्रतिबादीलाई नियन्त्रणमा लिई अदालतमार्फत १० हजार ५ सय राजश्व असुल उपर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार फरार थुनुवा तथा प्रतिबादी पक्राउ अभियानले कानुनी शासनको प्रत्याभूति गराउनुका साथै न्यायिक निर्णयको प्रभावकारी कार्यान्वयनमा टेवा पुग्ने विश्वास गरिएको छ।
























