हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिकासूचना प्रविधि

तनहुँका वरिष्ठ इन्जिनियर न्यौपानेको अनुकरणीय कार्य : स्मार्ट बोर्डले जोड्दै राजधानी र गाउँका विद्यालयहरु

प्रहार समाचार । तनहुँ, ५ पुस २०८२ शनिबार । ग्रामीण विद्यालयमा पनि राजधानीस्तरकै गुणस्तरीय शिक्षा सम्भव छ भन्ने उदाहरण तनहुँबाट सुरु भएको एक अभियानले व्यवहारमै पुष्टि गरेको छ। तनहुँको भानुका वरिष्ठ इन्जिनियर श्रीराम न्यौपानेको अगुवाइमा अघि बढेको स्मार्ट कक्षा अभियानले सामुदायिक विद्यालयको शिक्षामा प्रविधिको उज्यालो भरेको छ।

निजी पहलमा सुरु गरिएको यो अभियानअन्तर्गत तनहुँका १४ र कास्कीको सिक्लेसस्थित १ गरी १५ वटा सामुदायिक विद्यालयका कक्षा १० मा स्मार्ट बोर्ड जडान गरी नियमित पढाइ सञ्चालन भइरहेको छ। यसले ग्रामीण–सहरी शिक्षाबीचको खाडल घटाउँदै समान पहुँचयुक्त शिक्षा सम्भव हुने आशा जगाएको छ।


काठमाडौंको कलंकीस्थित एलआरआइ विद्यालयको कक्षा कोठाबाट तनहुँको थर्पुस्थित मीन माध्यमिक विद्यालयमा प्रत्यक्ष कक्षा सञ्चालन गरिएको सफल परीक्षणपछि राजधानीका अनुभवी शिक्षकबाट गाउँका विद्यार्थीले प्रत्यक्ष सिक्ने वातावरण बनेको छ। सीमित स्रोतसाधन भएका विद्यालयमा पनि प्रविधिको सही प्रयोगले सिकाइमा गुणात्मक सुधार ल्याउन सकिने कुरा यसले देखाएको छ ।


यसै अभियानलाई नीतिगत रूपमा विस्तार गर्न इन्जिनियर न्यौपानेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनसमक्ष ६ बुँदे ज्ञापनपत्र हालै बुझाएका छन्। ज्ञापनपत्रमा स्मार्ट बोर्ड, डिजिटल शैक्षिक सामग्री र प्रत्यक्ष कक्षा प्रणालीलाई सामुदायिक विद्यालयमा संस्थागत गर्न माग गरिएको छ। पाठ्यक्रमअनुसारका डिजिटल सामग्रीलाई पुस्तकको विकल्पका रूपमा निःशुल्क उपलब्ध गराउने, स्मार्ट कक्षा कार्यक्रमलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्ने तथा संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्यको मोडेल विकास गर्ने प्रस्ताव राखिएको छ ।

ज्ञापनपत्र बुझ्दै शिक्षा मन्त्री महाविर पुनले यो अभियानलाई शिक्षामा नवप्रवर्तनको उदाहरण भन्दै सराहना गरे। उनले सामुदायिक विद्यालय सुधारका लागि यस्ता प्रयासमा मन्त्रालयको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले स्मार्ट बोर्ड र डिजिटल सामग्री प्रयोगपछि विद्यार्थीको रुचि, सहभागिता र बुझाइ क्षमतामा उल्लेखनीय सुधार आएको बताएका छन्। कक्षाकोठामा प्रविधि भित्रिएसँगै विद्यार्थीहरू पढाइप्रति थप आकर्षित भएको उनीहरूको अनुभव छ।


तनहुँ र कास्कीका ग्रामीण विद्यालयमा काठमाडौंका प्रख्यात विद्यालयबाट प्रत्यक्ष कक्षा सञ्चालन गरिएको यो अभियानलाई नेपालमै पहिलो अभ्यासका रूपमा लिइएको छ। पाँच वर्षभित्र तनहुँ जिल्लाका सबै सामुदायिक विद्यालयका कक्षा १० लाई स्मार्ट बोर्डयुक्त बनाउने लक्ष्यसहित अघि बढाइएको यो अभियानले सामुदायिक शिक्षालाई आधुनिक, प्रविधिमैत्री र समान अवसरयुक्त बनाउने दिशामा बलियो आधार तयार गरेको सरोकारवालाहरूको विश्वास छ। अभियानका अगुवा इन्जिनियर न्यौपाने भन्छन्, -‘स्रोतसाधनको अभाव मात्र शिक्षाको कमजोरी होइन। सही प्रविधि र इच्छाशक्ति भए गाउँका विद्यार्थीले पनि शहरकै जस्तै गुणस्तरीय शिक्षा पाउन सक्छन् भन्ने कुरा हामीले व्यवहारमै देखाइसकेका छौँ।’

गाउँबाटै राष्ट्रिय बहस सिर्जना गर्न सफल यो अभियानले देखाएको छ— सही सोच, प्रविधि र इच्छाशक्ति भए सामुदायिक विद्यालय पनि गुणस्तरीय शिक्षाको केन्द्र बन्न सक्छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button